चुनावी सर्वेक्षण: काठमाडौंमा एमाले र माओवादी कमजोर, स्वतन्त्र र काङ्ग्रेस बलियो
काठमाडौं, ४ मंसिर । आम निर्वाचन २०७९ आइतबार साँझ सकिएको छ । केही छिटपुट बाहेक मतदान शान्तिपूर्ण रहेको निर्वाचन आयोगले जनाएको छ । तर,निर्वाचनमा उत्साहपुर्ण मत भने खसेन ।
यसैबीच देशभरका निर्वाचन क्षेत्रमध्ये केही क्षेत्रमा परेवान्युजले गरेको सर्वेक्षण अनुसार काठमाडौंमा माओवादी धेरै कमजोर देखिएको छ । प्रतिनिधिसभाको १५ मध्ये ४ क्षेत्र पाएको माओवादीले एउटा मात्रै जित्ने देखिन्छ ।
ललितपुर-३ बाट ऊर्जामन्त्री समेत रहेकी स्थायी समिति सदस्य पम्फा भुषाल, काठमाडौं-२ बाट पुर्व सभामुख ओनसरी घर्ती र काठमाडौ-९ बाट कल्पना धमलाको संसद प्रवेश गार्हो छ । माओवादीको चुनाव चिन्ह लिएर काठमाडौं-७ बाट उठेकी नेसपा केन्द्रिय सदस्य मानुषी यमि भट्टराईले भने थोरै मतान्तरले चुनाव जित्न सक्ने प्रक्षेपण गरिएको छ ।
यसैगरी माओवादी जस्तै नेकपा एमालेको अवस्था पनि काठमाडौंमा कमजोर नै देखिन्छ । एमालेका उम्मेदवारमध्ये भक्तपुर-२ मा महेश बस्नेत र काठमाडौं-२ मा मणिराम फुयालको सम्भावना देखिन्छ । त्यसैगरी नेपाली काङ्ग्रेसले ललितपुर-१ मा उदय शमशेर राणा, काठमाडौं-३ सन्तोष चालिसे, काठमाडौं-४ गगन थापा, काठमाडौं-५ प्रदिप पौडेल, काठमाडौ-६ भिमसेनदास प्रधान र काठमाडौं-१० मा राजन केसीले जित्ने देखिन्छ ।
त्यस्तै देशभरको केही स्थानमा गरिएको सर्वेक्षणमा रौतहट-३ का प्रभु शाह, रुपन्देही-१ का घनश्याम भुषाल र धनकुटाबाट हेमराज भण्डारीले व्यक्तिगत प्रभाव र गठबन्धनभित्रको सहाराले स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव जित्न सक्ने देखिन्छ ।
त्यसैगरी चितवन-२ मा रवि लामिछाने र काठमाडौं-१ मा पुकार बम राष्ट्रिय स्वतन्त्र पार्टीबाट संसदमा पुग्न सक्ने सर्वेक्षणले देखाउँछ । त्यसैगरी झापा-१ बाट विश्वप्रकाश शर्मा, झापा-५ बाट केपी ओली, ताप्लेजुङबाट योगेश भट्टराई, मोरङ-३ बाट रेखा थापा र सुनसरी-४ बाट ज्ञानेन्द्रबहादुर कार्कीले जित्ने देखिन्छ ।
सिराहामा उपेन्द्र यादव,रौतहट-१ माधबकुमार नेपाल, मकवानपुर-२ बिरोध खतिवडा,रामेछापबाट कान्छाराम तामाङ र ओखलढुंगाबाट रामहरि खतिवडाले पनि चुनाव जित्ने देखिन्छ ।
सिन्धुपाल्चोक-१ बाट माधव सापकोटा, धादिङ-१ बाट राजेन्द्र पान्डे, गोरखा-१ बाट राजेन्द्र बजगाइ, गोरखा-२ बाट पुष्पकमल दाहाल प्रचण्ड, चितवन-१ बाट विश्व पौडेल र चितवन-३ बाट डा. भोजराज अधिकारीले जित्ने सर्बेक्षणले देखाउछ ।
डडेल्धुराबाट शेरबहादुर देउवा, नवलपरासीबाट विनोद चौधरी, नवलपुर-१ बाट डा.शशांक कोइराला, रुकुम पश्चिम जनार्दन शर्मा, रोल्पा बर्षमान पुन, जाजरकोट शक्ति बस्नेत, जुम्ला ज्ञानेन्द्र शाही र कञ्चनपुर-१ बाट बिना मगर पनि जित्नेमा देखिन्छन् ।