पोखराको आन्तरिक उडान एक साताका लागि प्रभावित हुने
पोखरा, २ मंसिर । नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने क्यालिब्रेसन उडानका कारण पोखराको पुरानो विमानस्थलबाट भइरहेको आन्तरिक उडान एक साताका लागि प्रभावित हुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा निर्माण भएको अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षणका लागि मंसिर ५ गते (सोमबार)देखि क्यालिब्रेसन गर्दैछ । यसका लागि एरोथाई कम्पनीको विशेष जहाज नेपाल आइसकेको छ ।

१२ मंसिरसम्म विमानस्थलमा यान्त्रिक परीक्षणका लागि उक्त विशेष जहाजले धेरैपटक उडान तथा अवतरण गर्ने छ र सो क्रममा नियमित उडानहरु भने प्रभावित हुने छन् ।
वायुसेवा कम्पनीहरुले यस अवधिमा उडानमा असर पर्ने भन्दै यात्रुलाई सूचित समेत गराएका छन् ।