काठमाडौं-३ मा कृष्णको निरन्तरता कि सन्तोषको डेब्यु ?

परेवान्युज

काठमाडौं, १ मंसिर । आगामी आइतबार हुने प्रतिनिधि सभा निर्वाचनमा काठमाडौ क्षेत्र नम्बर-३ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली काङ्ग्रेसका नेता सन्तोष चालिसे र नेकपा एमालेका नेता कृष्ण राईकै बीचमा मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

कृष्ण राई यसअघिको जीतलाई निरन्तरता दिनेमा ढुक्क देखिन्छन् भने सन्तोष कृष्णलाई जसरी पनि रोकेर आफू संसदमा ‘डेब्यु’ गर्न चाहन्छन । यी दुई उम्मेदवारलाई राप्रपाका गणेश गिरी सहित स्वतन्त्र उम्मेदवार श्रीकृष्ण ज्योति, निरन्जन पुडासैनी, दिनेश खनाल र द्वारिका अधिकारी समेतले मैदानमा रोक्ने प्रयास गरेका छन् । यद्यपि यो क्षेत्रमा स्वतन्त्र र साना दलको प्रभाव नगन्य छ । त्यसैले चालिसे र राई बिचमै प्रतिस्पर्धा हुनेछ ।

राईसंग २०७४ मा प्रतिनिधि सभा निर्वाचन जितेर संसदमा पुगेको अनुभव छ भने चालिसेसंग वडा, गाविस हुँदै नगर प्रमुख भएर जनताको प्रतिनिधि भएको अनुभव छ । हामीले ग्राउन्डमा गएर जनतासँग गरेको कुराकानीलाई आधार मान्ने हो भने यो बिचमा राई प्रति जनताको गुनासो धेरै छ । मुख्यगरी कोरोनाको समयमा राइले जन अपेक्षा अनुसार काम नगरेको गुनासो मतदाताको छ ।

तर, कोरोनाको समयमा नगरप्रमुख रहेका चालिसेले जनताको घरदैलो मै सेवा दिएको ‘गुन’ तिर्नुपर्ने मतदाता पनि रहेछन् । ‘सन्तोषको धेरै गुन तिर्नु थियो यसपटक भोट दिएरै गुन तिर्न पाउने भयौं’ सन्तोष बारे गोकर्णेश्वर-८ का स्थानीय भन्छन- ‘कहिल्यै हुन्न, गर्दिनँ,सक्दिनँ भन्ने कुरा सन्तोषको बोलीमै छैन । जसले जे भनेपनी हुन्छ गरौंला भन्ने बानी छ ।’

सन्तोषको जनतासँग प्रत्येक्ष जोडिएर काम गर्ने यही शैलीले उनलाई यसपटक संसदमा ‘डेब्यु’ गराउने स्थानिय समाजसेवी ईश्वर पुडासैनी बताउछन् ।’जस्तोसुकै समस्यामा पनि म छु अगाडी बढ भनेर हौसला दिने अभिभावक जस्तै लाग्छ’सन्तोष बारे पुडासैनी भन्छन्- ‘काम हुने नहुने पछिको कुरा तर,हुन्छ गर्छु भनेर सङ्गै हिड्ने र हौसला दिने उनको स्वभाव गज्जब छ ।’

यो निर्वाचन क्षेत्रको झन्डै दुई दर्जन गाउँ र टोल पुगेर अध्यन गर्दा सन्तोषको पक्षमा जनताको गुनासो भन्दा प्रशंसा बढी सुनियो । जनताले एक अर्काको मुखबाट गरेको गरेको प्रशंसाले नै सन्तोषले राइको दोहोरिएर संसद भवन पुग्ने चाहनालाई ब्रेक गराउन सक्छन् । तर,यसको अन्तिम फैसला भने आइतबार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्मको समयमा क्षेत्रका मतदाताले गर्नेछन् ।

काठमाडौं क्षेत्र नं ३ भित्र पर्ने कामनपा-६ सहित गोकर्णेश्वर नगरपालिकाको ९ वटा वडा र कागेश्वरी मनोहराको ३ वटा वडामा गरी कुल मतदाता ५८ हजार ८ सय ८९ रहेको छ । यसमध्ये सबैभन्दा बढी मत काठमाण्डौ महानगरपालिका वडा नं ६ मा रहेको छ भने सबै भन्दा कम मत गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा रहेको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा १ हजार ७४२ मतदाता र काठमाण्डौ महानगरपालिका वडा नं ६ मा १५ हजार ५३१ रहेको निर्वाचन आयोगले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय