मोरङ-३: भानुभक्त र सुनिल जित्छु भन्छन्, तर रेखालाई मतदाताको ‘ग्रीन सिग्‍नल’

परेवान्युज

मोरङ, १ मंसिर । मोरङ निर्वाचन क्षेत्र नम्बर-३ मा यसपटक चुनाव रोचक बन्‍ने छ । गठबन्धनको साथ लिएर नेपाली काङ्ग्रेसका सुनिल शर्मा, नेकपा एमालेका भानुभक्त ढकाल र नायिका एवं राप्रपा नेतृ रेखा थापाबिच यो क्षेत्रमा तीव्र चुनावी प्रतिस्पर्धा छ ।

मोरङको हरैचा, बेलबारी, पथरी शनिश्चरे समेतको यो निर्वाचन क्षेत्रमा १ लाख ४९ हजार ८३३ मतदाता छन् । त्यसमा महिला मतदाता बढी छन् । यहाँ पुरुष मतदाता ७२ हजार ५९० र महिला मतदाता ७७ हजार २३९ छन् ।

यस क्षेत्रमा १९ जना स्वतन्त्र र १२ जना राजनीतिक पार्टीका गरी ३१ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमा महिला उम्मेदवार जम्मा ४ जना र पुरुष २७ जना छन् । तर, प्रतिस्पर्धामा भानुभक्त, सुनिल र रेखा गरी ३ उम्मेदवार मात्रै देखिन्छन् । अन्यको चुनावी कार्यक्रम र प्रचारप्रसार समेत नगन्य छ ।

यो क्षेत्रमा यसपटक पुरानै अनुहार भानुभक्त र सुनिलको भन्दा नायिका रेखा थापाको ‘इन्ट्री’ धमाकेदार देखिन्छ । उनको चुनावी कार्यक्रममा देखिएको आमाहरूको लहर र उनलाई आशाको नजरले हेर्दै गरेका मतदाताको अनुहारले बताउँछ कि यसपटक रेखाको उम्मेदवारी अरु ‘हेभिवेट’ भन्नेहरूलाई भारी पर्नेछ । जसरी उनको चलचित्र ‘हिम्मतवाली’मा रेखाको इन्ट्री हुन्छ ठ्याक्कै त्यही शैलीमा यसपटक रेखाले निर्वाचनमा बाजी मार्ने धेरैले अनुमान गरेका छन् । अर्थात रेखाको ‘इन्ट्री’ सलकपुर देखि संसद भवनसम्म हुनेछ ।

मोरङ ३ को निर्वाचन क्षेत्र भित्र पुगेर हामिले ग्राउन्डमा गरेको कुराकानी र जनताको पुरानो पार्टी प्रतीको नैराश्यता अनि रेखाप्रतिको अगाढ माया र उत्साहले यसपटक रेखालाई ‘ग्रीन सिग्नल’ मिलेको बुझ्न सकिन्थ्यो । रेखा आफैं पनि चुनावी नतिजा आफ्नो पक्षमा आउनेमा ढुक्क छिन् । ‘यसपटक यहाँका जनताले गलत ठाउँमा मतदान गर्ने छैनन्’ उनले भनिन-‘जनताको मत लगानीको रुपमा मैले पाउनेछु र त्यो मप्रति गरेको लगानीले कोही पनि निराश हुने छैन ।’

रेखाकै जस्तो जित्नेमा ढुक्क छन सुनिल शर्मा पनि । चुनावी कार्यक्रममा रेखालाई प्रतिस्पर्धी नै होइन भन्दै थिए सुनिल । ‘रेखा रहर लागेर उठेको मात्रै हो, जित्न होइन’, सुनिलको प्रतिक्रिया थियो- ‘अलिअलि मेरो भोट काटेर एमाले उम्मेदवारलाई सहयोग गर्न मात्रै रेखाको उम्मेदवारी हो, सायद केपी ओली र राजेन्द्र लिङ्देनको सहमतिमै यसो गरिएको होला ।’

यता भानुभक्त ढकाल पनि जित्नेमा ढुक्क छन् । विगतदेखि एमालेको पकड भएको क्षेत्र भएकोले यहाँ आफू पराजित हुने कुरा असम्भव जस्तै रहेको उनको प्रतिक्रिया थियो । उनले पनि रेखा थापाको उम्मेदवारीले चुनावी परिणाममा कुनै फरक नपार्ने बताए । ‘मेरो प्रतिस्पर्धा गठबन्धनका उम्मेदवार सङ्ग हो’ उनले भने- ‘जो सङ्ग प्रतिस्पर्धा भएपनि चुनाव जित्छु ।’

गठबन्धनका सुनिल शर्मा र एमालेका भानुभक्त ढकालको बारेमा ग्राउन्डमा पनि उत्साहको समाचार भने सुनिएन । निर्वाचन क्षेत्रभित्रको जुनसुकै चियापसल वा टोलमा कुरा गर्दा पनि रेखाको चर्चा सुनिन्थ्यो । चलचित्रमा भ्रष्ट र दलाल कुट्ने नायिका रेखाले आफुलाई ग्राउन्डमा पनि ‘हिम्मतवाली’ को रुपमा म चिनाइसकेको कुरा बुझ्न कठिन थिएन ।

अन्याय र विकृतिविरुद्ध लड्ने असल पात्रको रुपमा जसरी चलचित्रमा रेखाको अभिनय देखिन्थ्यो मोरङ ३ का मतदाताले ठ्याक्कै त्यही रुपमा रेखासँग अपेक्षा गरेको देखियो । शोषण, दमन र उत्पीडन विरुद्ध संसदमा रेखाले बोल्न सक्छिन भन्ने विश्वास यहाँका मतदातामा देखिन्छ ।

सायद यही कारण रेखाको संसदमा ‘डेब्यु’ हुने कुरामा मतदाताले समेत ग्रीन सिग्नल दिएका छन् । यस पटक रेखाले मोरङ-३ मा उम्मेदवारी दिएर साच्चिकै यहाँका जनतामाथि ठूलो न्याय गरेको भन्दै स्थानीय भन्छन्- ‘उम्मेदवारी रेखाले दिइन्, अब जिताउने पालो हाम्रो हो ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय