मैत्रीपूर्ण फुटबल खेलमा नेपालले पाकिस्तानलाई हरायो

तस्वीर: अन्जान केसी

काठमाडौं, ३० कात्तिक । नेपाल र पाकिस्तानबीचको मैत्रीपुर्ण फुटबल खेलमा नेपालले जीत हासिल गरेको छ ।  बुधबार दशरथ रङ्गशालामा सम्पन्‍न खेलमा नेपाल १ ० ले विजयी भएको हो ।

नेपालका लागि अन्जन विष्टले गरेको गोल नै जीतका लागि निर्णायक बनेको थियो । उनले ८३औं मिनेटमा सुनिल बलको एसिस्टमा गोल गरेका हुन् । यो उनको ११औं अन्तर्राष्ट्रिय गोल हो ।

खेलमा दुवै टोलीले गोल गर्ने अन्य अवसरहरु पाएपनि गोलमा परिणत भने गर्न सकेनन् । पाकिस्तानले केही राम्रा अवसरहरुलाई सदुपयोग गर्न सकेन र त्यसपछि अन्त्यतिर गोल पनि व्यहोर्न पुग्यो ।

यस खेलमार्फत मिडफिल्डर आवास लामिछानले नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् । आवास दोस्रो हाफमा सेसेहाङ आङ्देम्बेको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु गरेका हुन् ।

सन् २०१९ पछि अन्तर्राष्ट्रिय फुटबल नखेलेको पाकिस्तान करिब साढे तीन वर्षपछि मैदानमा फर्किएको हो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय