युएईसँग नेपालको फराकिलो हार

काठमाडौं, २८ कात्तिक । त्रिवि क्रिकेट मैदानमा सोमबारदेखि सुरु भएको नेपाल र युएईबीचको एकदिवसीय क्रिकेट श्रृंखलामा नेपालले खराब सुरुवात गरेको छ । पहिलो खेलमा नेपाल युएईसँग ८४ रनले पराजित भएको हो ।

युएईले दिएको २६४ रनको बलियो लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर १७९ रन मात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले कठिन परिस्थितिमा ५४ रन बनाए भने अर्जुन साउदले ५१ रन बनाए । नेपाल ४१-४ को कठिन अवस्थामा पुगेका बेला अर्जुन र दीपेन्द्रले ६८ रनको साझेदारी गर्दै आशा जीवितै राखेका थिए ।

अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् । युएईका आयान खानले १० ओभरमा केवल १४ रन दिएर ४ विकेट लिएका थिए । आयानले आसिफ शेख ज्ञानेन्द्र मल्ल रोहित पौडेल र कुशल भुर्तेलको विकेट लिएका थिए । त्यसैगरी बासिल हामिदले २ तथा जाहुर खान, रोहन मुस्तफा र अहमद राजाले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६३ रन बनायो । उसका रोहन मुस्तफाले सर्वाधिक ५३ तथा मोहम्मद वासिमले ४४ र वृत्या अरविन्दले ४० रन बनाए ।

अलिशान शराफुले २९ रन बनाउँदा अहमद राजा २७ रनमा अविजित रहे । नेपालका गुलशन झाले २ विकेट लिँदा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए ।

श्रृंखलाअन्तर्गत दोस्रो खेल बुधबार हुनेछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय