झापा-१ मा अग्निलाई ‘टुरिस्ट’ ट्याग, विश्वप्रकाशलाई अन्तिम मौका !
परेवान्युजआगामी प्रतिनिधि सभा निर्वाचनमा देशको १६५ क्षेत्र मध्यमा बहुप्रतिक्षित निर्वाचन क्षेत्र झापा निर्वाचन क्षेत्र नम्बर-१ पनि हो । यहाँ नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेकपा एमालेका नेता एवं पुर्व महान्यायाधिवक्ता अग्नि खरेल आमने-सामने छन् ।
अग्नि खरेल झापा-२ का मतदाता हुन् । उनको चुनाव लड्ने तयारी झापा निर्वाचन क्षेत्र नम्बर-२ मै थियो । तर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई २ को टिकट दिएनन् । आफ्नो होम ग्राउन्डमा टिकट लिन नसकेका अग्निलाई पार्टी केन्द्रले झापा-१ मा उम्मेदवार बनायो । जहाँ उनलाई ‘टुरिष्ट’ उम्मेदवार भन्ने ट्याग लागेको छ ।
हुन त अग्निको घर र निर्वाचन क्षेत्र जोडिएकै छ । तर, उनैले खरेल बन्धु समाजले आयोजना गरेको एउटा कार्यक्रममा आफुलाई टुरिष्ट उम्मेदवार नभन्न आग्रह गरेपछि त्यसको खुलासा भयो ।
यसैको फाइदा लिन खोज्दैछन् गठबन्धनका साझा उम्मेदवार विश्वप्रकाश शर्माले । यस अघिका दुई वटा निर्वाचनमा पराजित शर्माको यो तेस्रो प्रयास सफल हुने केही कारण मध्ये एमालेको उम्मेदवार पनि हुनसक्छ । अग्निलाई झापा-१ मा टिकट दिएकोमा एमालेका नेताकार्यकर्ता भित्र पनि असन्तुष्टि छ ।
यता, विश्वप्रकाश शर्मालाई अर्को भर माओवादीको पनि छ । अघिल्लो चुनावमा माओवादी नेता राम कार्की संग पराजित भएका शर्मालाई अहिले माओवादीको पनि साथ छ । त्यसैगरी एमालेबाट फुटेर गएको नेकपा (एकीकृत समाजवादी) र लोसपाको समेत समर्थन पाएका शर्मा जित्नेमा ढुक्क छन् ।’२०७४ मा एमाले पहिलो र माओवादी तेस्रो पार्टी मिलेर काङ्ग्रेस हराएको मलाई याद छ’ उनले भने-‘अहिले पनि कुरा त्यै हो पहिलो पार्टी नेपाली काङ्ग्रेस र तेस्रो पार्टी माओवादी मिलेर एमालेलाई पराजित गर्छौं ।’
तर, विश्वप्रकाशले भने जस्तै माओवादी र काङ्ग्रेसको बीचमा पुर्ण एकता वा गठबन्धन हुने कुरामा दुवै पार्टी भित्र ‘डर’ छ । गएको स्थानिय निर्वाचनमा जिल्लाको बुद्ध शान्ति गाउँ पालिका र मेचिनगर नगरपालिकाको चुनावी परिणाम सोचे भन्दा फरक आएपछि दुवै पार्टीभित्र ‘हेराहेर’ को अवस्था छ । तर, माओवादीका मेची नगर अध्यक्ष राजन चिमोरिया पहिलेको सबै तिक्तता सकिएको र गठबन्धनको एक भोट पनि दायाँबायाँ नहुने बताउछन् । ‘गणतन्त्र र लोकतन्त्र जोगाउने चुनौती हामी सबैको हो’ उनी भन्छन्’, अब विश्वप्रकाश शर्मालाई संसदमा पुग्न कसैले रोक्न सक्दैन ।’
माओवादी अध्यक्ष राजनको जस्तै कुरा बुद्धशान्ति गाउँपालिका नेपाली काङ्ग्रेस गाउँ सभापति चक्र शेर्माको पनि छ ।’झापा-१ का जनताले विश्वप्रकाशलाई दुईपटक चुनाव हराएर गल्ती भयो भन्ने बुझेको र अब तेस्रो गल्ती गर्दैनन् भन्नेमा ढुक्क छौं’ शेर्मा भन्छन- ‘विश्वप्रकाश जत्तिको केन्द्रिय तहमा पहुँच भएको नेतालाई हराएर ‘टुरिष्ट’ उम्मेदवार जिताउन संभव छैन ।’
विश्वप्रकाश आफैं पनि विगतमा भन्दा यसपटक बढी मेहनत गरिरहेका देखिन्छन् । हामीले उनको निर्वाचन क्षेत्रमा गरिएको अध्यन र स्थानीयको कुराले त्यो पुष्टि गर्दछ । मेचीनगरको धाइजिन स्थित चुनाव प्रचारप्रसार सम्पर्क कार्यालय उद्घाटन गर्दा शर्माले आफ्ना प्रदेशका उम्मेदवारलाई साक्षी राखेर सबैले जित्नेगरी वातावरण बन्दै गएको बताएका थिए । उनको निर्वाचन क्षेत्रमा काङ्ग्रेस, माओवादी र समाजवादीका उम्मेदवार प्रत्यक्ष र समानुपातिकमा मिलेर अगाडि बढेको देखिन्छ ।
यसपटक झापा-१ बाट बिश्वप्रकाश शर्माको जित निश्चित होइन सुनिस्चित भएको नेकपा (एकीकृत समाजवादी)का जिल्ला सचिवालय सदस्य प्रदिप धिमाल बताउँछन् ।’यो कुनै व्यक्ति होइन, प्रतिगमन विरोधी शक्ति परास्त गर्ने समय हो’ उनले भने- ‘अगाडिको २ वटा निर्वाचनमा विश्वप्रकाशलाई चिन्न नसक्नु दुर्भाग्य हो ।’
त्यसैगरी नेपाली काङ्ग्रेस झापाका कार्यबाहक सभापति केशवराज पान्डेले पनि प्रतिगामी शक्तिको चलखेल बढेको बेला बाम-लोकतान्त्रिक शक्तिले बहुमत ल्याउन आबश्यक भएको बताए ।
नेकपा माओवादी केन्द्रका प्रदेश सभा उम्मेदवार श्यामवीर लिम्बुले पनि बिगतमा गरे जस्तो गल्ती अब कसैले नगर्ने भन्ने सहमति भैसकेको बताए । ‘यसअघि जे भयो भयो अब अघि बढौ, सामुहिक निर्णयबाट निश्कर्ष निकालौ भन्ने निर्णयमा पुगेका छौं’- उनले परेवान्युजसँग भने- ‘विगतको हार विश्वप्रकासको होला तर अब चाहिँ देशले हार्छ ।’