सुनसरी-२ को प्रदेशमा राजीव अगाडि
सुनसरी, २८ कात्तिक । सुनसरी जिल्ला निर्वाचन क्षेत्र नम्बर २ को (२) मा उम्मेदवार रहेका नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य राजीव कोइराला यतिबेला गाउँ-गाउँ पुगेर ज्येष्ठ नागरिकसंग आशीर्वाद लिन व्यस्त छन् ।
सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा चुनावी मैदानमा उत्रिएका राजिवको निर्वाचन क्षेत्रमा पुग्दा उनको चुनावी माहोल रोचक थियो । राजिवको निर्वाचन क्षेत्र भित्रै पर्ने रामधुनी-८ र ९ को ग्रामीण बस्तीमा हामी पुग्दा राजिव वृद्ध आमासँग आशिर्वाद लिदै थिए । उनको पछि-पछि नेपाली काङ्ग्रेसका नेताकार्यकर्ता नाचगानमा ब्यस्त थिए ।
धान थन्क्याउने समय भएकोले धेरै जसो मानिस खेतमा देखिन्थे । तर, खेतको काम छाडेर पनि राजिबलाई हौसला दिन स्थानीय जम्मा भैहाल्थे । राजिव प्रति स्थानीयको अचम्मैको माया र सद्भाव छ भन्ने यहाँ देखिन्थ्यो ।
नेपाली काङ्ग्रेस सुनसरीको पुर्व सभापति समेत रहेका सरल, शालीन र जनताको बिचमा भिजेका राजिवलाई हरेक घर र त्यहाँको अवस्था बारे थाहा रहेछ । जनताको समस्या के हो ? उनीहरुको माग के छ ? सडक, बिजुली, अस्पताल, स्वास्थ्य, शिक्षा, रोजगारी, कृषकको दु:ख, मल बीउ जस्ता साना-ठुला जुनसुकै कुरामा राजिवले चासो राखेको देखियो । सायद यहि कारण होला उनले स्थानीय जनताको मन जितेका रहेछन् ।
स्थानीय भन्छन्-‘हाम्रो दु:ख बुझ्ने र जहाँ जे पर्दा पनि हामी सङ्गै कुद्ने राजीव नै हुन् । त्यसैले यहाँको भोट लिने अधिकार उनैलाई छ ।’ स्थानीयले भनेजस्तै त्यो क्षेत्रमा राजिवको विकल्प भेट्न गाह्रो छ । राजिवले स्थानीय मतदाताको यति धेरै माया पाउनुमा उनी जनतासंग धेरै नजिक रहेछन् । अर्थात ‘मर्दा र पर्दा’ साथ चाहिन्छ भन्ने कुरालाई राजिवले राम्ररी बुझेका रहेछन् । दोस्रो कुरा नेपाली भाषा मात्रै होइन गाउँ बस्तीमा बोलीने स्थानिय भाषा समेत बोल्ने भएकाले राम्रोसँग नेपाली भाषा नबुझ्ने बस्तीका मानिसलाई पनि राजिवले उनीहरुकै भाषा बोलेर आफुतिर आकर्षित गर्न सक्दा रहेछन् ।
हामीले उनको निर्वाचन क्षेत्रमा रिपोर्टिङ गर्दै जादा राजिव जितको नजिक छन् भन्ने सजिलै बुझ्न सकिन्थ्यो । राजिवको घरदैलो चलिरहेका बेला अलि फरक ठाउँमा गएर हामीले स्थानीयको प्रतिक्रिया लिनखोज्यौ ।’हाम्रोलाई भन्दा राम्रोलाई भोट दिएर जिताउने सोचेका छौं’-स्थानीयले भने- ‘पत्रकारज्युले हाम्रो नाम र फोटो नलिनुस, पछि गाह्रो हुन्छ, तर यत्ति कुरा ग्यारेन्टी छ हामी राजिवबाबुलाई जिताउँछौं ।’ जनताको बुझाइमा त्यहाँ राजिवको आवश्यकता छ तर खुलेर बोल्ने अवस्था छैन । कतिपय ठाउँमा जातीय भोटले परिणाम यताउता हुनसक्ने भएकोले स्थानीयले खुलेर कुरा गर्न चाहेनन् ।
नेपाली काङ्ग्रेसको राजनीति गरिरहेका राजिवलाई अन्य दलका नेताकार्यकर्ता र समर्थकले समेत साथ दिएको पाइयो ।’यसपटकको निर्वाचनमा राजिवको नै जित निश्चित छ’ एकजना शिक्षकले प्रतिक्रिया दिए- ‘कठिन समयमा जसले जनताको साथ दिन्छ मत उसैले पाँउछ । अहिले जनताको मत पाउने राजिवले नै हो ।’
राजिवको भोट माग्ने शैली पनि फरक छ । मतदाता भेटेपछि पहिले समस्या सोध्ने र पछि मात्रै भोट र आशीर्वाद माग्ने राजिवको शैलीले पनि उनिप्रती धेरैले सहानुभूति राखेको देखियो ।
नेपाली काङ्ग्रेसका नेताकार्यकर्तासँग भन्दा जनतासँग बढी नजिक देखिएका राजिव प्रदेश नम्बर-१ को भावी मुख्यमन्त्रीको दाबेदार समेत हुन भन्छन् स्थानीयले । राजिवको क्षेत्रमा गठबन्धनका दलहरू बिचको सम्बन्ध पनि राम्रो रहेछ ।
नेपाली काङ्ग्रेस सहित नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको प्रभाव रहेको यहाँको उत्तरी क्षेत्रमा राजिवको प्रभाव अझै बढी देखियो । त्यसैगरी तल्लो एरियामा लोसपाको मत पनि राजिवलाई नै थपिने पक्का रहेछ । जनताको जुनसुकै गाह्रो र अफ्ट्यारो काममा पनि राजिबले साथ दिने गरेको कारण जनताले पनि राजिवलाई चुनाव जिताउने यो अवसर गुमाउन चाहँदैनन् भन्ने प्रष्ट देखिन्थ्यो । स्थानीय निर्वाचनको परिणामले पनि राजिवको अवस्था बलियो देखिन्छ ।
यो क्षेत्रमा नेकपा एमालेबाट रामप्रसाद मेहता प्रतिस्पर्धामा छन् । उनी नेपाली काङ्ग्रेस परित्याग गरेर एमालेमा गएका हुन् । प्रतिनिधि सभामा भने एमालेबाट पुर्व मन्त्री भिम आचार्य र गठबन्धनबाट नेपाली काङ्ग्रेसका सिताराम मेहता बिच प्रतिस्पर्धा छ ।