काठमाडौ-३ को (१) मा दिपेन्द्र लामाको घरदैलो
काठमाडौं, २७ कात्तिक । काठमाडौं निर्वाचन क्षेत्र नम्बर-३को (१) मा स्वतन्त्र उम्मेदवारी दिएका दिपेन्द्र लामाको प्रचारप्रसार आक्रामक देखिएको छ । उनले युवाहरूलाई साथमा लिएर घरदैलो गरिरहेका छन् ।
काठमाडौ महानगरपालिका वडा नम्बर-६ का पुर्व वडा अध्यक्ष एवं नेपाली काङ्ग्रेसका युवा नेता लामाले नेपाली काङ्ग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका हुन । उनले ‘क्याप’ चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गर्दैछन् ।
उम्मेदवार सिफारिस गर्दा नै पार्टीले धोका दिएको र टिकट वितरणमा पनि आफू अन्यायमा परेको भन्दै पार्टीकै आधिकारिक उम्मेदवार विरुद्ध उनले उम्मेदवारी दिएका थिए । यो क्षेत्रमा गठबन्धनबाट नेपाली काङ्ग्रेसका बाग्मती प्रदेस सदस्य छिरिङ दोर्जे लामा उम्मेदवार छन् । उनी यसअघिका प्रदेस सांसद पनि हुन् ।
घरदैलोमा व्यस्त रहेका दिपेन्द्रले जनताले आफुलाई नै खोजेकोले जनताको चाहना अनुसार नै उम्मेदवारी दिएको र जनताले जिताउनेमा ढुक्क रहेको बताए । ‘मैले वडा अध्यक्ष हुँदा गरेको काम र मेरो इमानदारीतालाई जनताले मुल्यांकन गर्नेमा ढुक्क छु’ उनले भने- ‘म कसैलाई हराउन उठेको होइन आफू जित्न र जनताको काम गर्न उम्मेदवार भएको हुँ ।’
लामाले नेपाली काङ्ग्रेसमा ३५ वर्षसम्म लगानी गरेको तर आफुलाइ पार्टीले उपेक्षा गरी अन्याय गरेको पनि बताए ।