मेसीको कप्तानीमा अर्जेन्टिनाको विश्वकप टोली घोषणा
काठमाडौं, २६ कात्तिक । स्टार स्ट्राइकर लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कतारमा हुने फिफा विश्वकपका लागि टोली घोषणा गरेको छ । प्रशिक्षक लिओनल स्कालोनीले शुक्रबार अर्जेन्टिनाको अन्तिम टोली घोषणा गरेका हुन् ।
फिफा विश्वकप अबको ८ दिनमा अर्थात् नोभेम्बर २० (मंसिर ४) मा सुरु हुँदैछ । मेसीले यस विश्वकप आफ्नो अन्तिम विश्वकप हुने जनाइसकेका छन् ।
मेसीकै कप्तानीमा अर्जेन्टिनाले गतवर्ष कोपा अमेरिका फुटबलको उपाधि जितेको थियो भने यूरोच्याम्पियन इटालीलाई पनि कप अफ च्याम्पियन्समा हराएर बलियो दाबेदारी प्रस्तुत गरेको छ ।
अर्जेन्टिनाको विश्वकप टोलीमा चोटबाट रिकभर हुन प्रयासरत खेलाडीहरु एन्जल डि मारिया र पाउलो डिबाला पनि समेटिएका छन् ।
समूह सी मा रहेको अर्जेन्टिनाले नोभेम्बर २२ मा साउदी अरेबियासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । यस समूहमा मेक्सिको र पोल्याण्ड पनि रहेका छन् ।
यस्तो छ अर्जेन्टिनाको टोली:
गोलकिपर: एमिलियानो मार्टिनेज, गेरोनिमो रुली, फ्रान्को अर्मानी
डिफेण्डर: नाहुल मोलिना, गोन्जालो मोनिटेल, क्रिस्टियन रोमेरो, जर्मन पेजेल्लन, निकोलस ओटामेन्डी, लिसान्ड्रो मार्टिनेज, मार्कोस अकुना, निकोलस ट्याग्लिफिको, जुयन पोयथ
मिडफिल्डर: रोड्रिगो डे पउल, लिएन्ड्रो परेडेस, एलेक्सिस म्याक अलिस्टर, गुइडो रोड्रिगेज, पपु गोमेज, एन्जो फर्नान्डेज, इजेक्वेल पालासिओस
फरवार्ड: एन्जल डि मारिया, लाउटारो मार्टिनेज, जुलियन अल्भारेज, निकोलस गोन्जालेज, जाओक्विन कोरेअ, लियोनल मेसी, पाउलो डिबाला