आमाहरू भन्छन्- चुनाव रेखाले जितिसकिन् !
रुद्र भट्टमोरङको निर्वाचन क्षेत्र नम्बर-३ का आमा दिदिबहिनीहरु यतिबेला पाकेको धान थन्क्याउन व्यस्त छन् । यो धान भित्र्याउने समय हो । त्यसैले हामी त्यहाँ पुग्दा आमाहरू खेतमै थिए । तर, धान भित्र्याउन जत्तिकै हतारो आमाहरूलाई अर्को पनि रहेछ । आमाहरूको हतारो बुझ्न खोज्दै गर्दा थाहा भयो- मंसिर ४ को चुनावमा आफ्नी चेली रेखा थापालाई जिताउन उनीहरुको दौडधुप रहेछ ।
आमाहरुसँग गफ गर्दागर्दै चुनावी घरदैलो गर्दै गरेकी रेखासँग हाम्रो भेट भयो । रेखाको गाडी रोकिन नभ्याउदै आमाहरू फुलमाला र अबिर लिएर आइपुगे । मोरङको पथरी, बेलबारी र हरैचाको ७ ठाउँमा हामी पुग्दा रेखाको कार्यक्रममा आउने सबैले चुनाव रेखाले जित्नेमा आफुहरु ढुक्क भएको बताए ।
रेखालाइ देख्ने बित्तिकै सेल्फी र टिकटक बनाउने भन्दा फुल माला र अबिर लगाउनेको जमात देखेपछि हामीले रेखालाई सोध्यौं- कस्तो छ माहोल ? रेखाले सहज उत्तर दिइन- ‘माहोल मैले होइन आमा दिदिबहिनीले बनाउनुभएको छ, म विकल्प बनेर आएको छु । यसपटक मेरो जित निश्चित होइन सुनिश्चित छ भन्ने आमाहरूकै मुखबाट सुनेर म पनि ढुक्क छु ।’
त्यस क्षेत्रको चुनावी माहोल हेर्दा रेखाले चुनाव जितेको जसरी नै आमाहरू फुरुङ्ग र उत्साही देखिन्थे । ‘यो चुनाव हामी आमाहरूको लागि अगाडिको चुनाव भन्दा फरक छ’ स्यानी लिम्बुले भनिन् । कारण बुझ्दा थाहा भयो अगाडिका चुनावमा भोट खसाले मात्रै पुग्थ्यो तर यसपटक भोट माग्न र जिताउनमा आमाहरू कस्सिएका छन् । आमाहरूलाई यति सार्हो चुनाव लाग्नुको कारण यसपटक उनीहरुको आफ्नै छोरी चेली चुनावी मैदानमा हुनु हो ।
यस अघिका उम्मेदवार उनीहरु राम्रोसँग चिन्दैनथे । जसले जे भनेर फकायो भोट उतै जान्थ्यो । नेपाली चलचित्रकी हिम्मतवाली नायिका एवं राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रिय सदस्य रेखाले यसपटक मोरङ क्षेत्र नम्बर-३ बाट चुनावी प्रतिस्पर्धाको लागि उम्मेदवारी दर्ता गराउँदा सम्म रेखाको यो माहोल होला भन्ने सोचेका थिएनन् । दुई ठुला पार्टीका उम्मेदवारसँग चुनावी प्रतिस्पर्धा गर्दै गर्दा रेखालाई धेरै आमा, दिदिबहिनी र काका, बुबा, दाजुभाइले साथ दिएका छन् ।
यो क्षेत्रमा सत्ता गठबन्धनबाट नेपाली काङ्ग्रेसले व्यवसायी सुनिल शर्मालाई उम्मेदवार बनाएको छ भने एमालेले पुर्व मन्त्री भानुभक्त ढकाललाई अगाडि उभ्याएको छ । यी दुई हेभीवेट उम्मेदवारलाई यहाँका आमाहरूले हराउने चुनौतीको जिम्मा पनि लिएका छन । आमाहरू भन्छन्- ‘हामी रेखा बाहेक कसैलाई चिन्दैनौ, चुनावका बेला आउने र पछि बेपत्ता हुनेको चासो पनि राख्दैनौं ।’
आमाहरूको यही कुरा रेखाको चुनावी हतियार र जीतको उर्जा भएको छ । चुनावी घरदैलोमा रेखालाई आमाहरूको आशीर्वाद थाप्न र फुल माला लिनै भ्याइनभ्याइ छ । मानौं आमाहरूको उत्साह र हसिलो अनुहारले भन्छ ‘रेखाले चुनाव जितिसकिन’ अब मंसिर ४ बाकसमा मत खसाल्ने र नतिजाको फैसला सुन्न मात्रै बाँकी हो ।
ज्येष्ठ नागरिकले शिरमा फुल लगाइदिएर आशीर्वाद संगै ‘तिमिले चुनाव जितेको हेर्ने धोको छ’ भन्दै सुमसुम्याएपछी रेखा पनि उत्साही छिन् । बुबा उमेरका पुरुषले ढाकाटोपी लगाएर ‘देशको शिर उच्च राख है’ भन्दा र आमाहरूले ‘हाम्रो भोट तिमीलाई’ भनेर माला लगाइदिँदा रेखाको जवाफ हुन्थ्यो- ‘मेरो बाचा भयो, म देश बेच्न र भ्रष्टाचार गर्न होइन तपाईंको सपना पूरा गर्न जाँदैछु ।’
रेखाको लागि यो निर्वाचन नयाँ र पहिलो हो । तर, मतदाताको लागि पहिलो पनि होइन र नौलो पनि लाग्दैन । सधैं चुनावमा आएर भोट मागेपछि फर्केर नआउने ‘टुरिष्ट’ नेतालाई यहाँका मतदाताले यसपटक स्वाद चखाउने भएका छन् । रेखाले यसको फाइदा सजिलै लिने देखिन्छ । मोरङ सलकपुरकै चेली भएका कारण स्थानीय जनताको मनमा भिज्न रेखालाई सजिलो पनि भएको छ ।
‘मैले अरु ठाउँबाट पनि उम्मेदवारी दिन सक्थे तर,आफ्नै ठाउँ रोजे’ रेखाले परेवान्युजसंग भनिन- ‘मैले बच्चा हुँदा यहाँका धेरै आमाहरूको खाजा मागेर खाएको छु, फलफुल टिपेर खाएको छु, चाडपर्वमा उहाँसंगै रमाएको छु त्यसैले उहाँहरुको गुन तिर्नुछ, देशको मुहार फेर्नुछ ।’
तस्वीर: चन्द्र पौडेल/परेवान्युज