एमालेलाई भोट माग्ने मन्त्री हटाइए

पोखरा, २२ कात्तिक । सत्ता गठबन्धनमा बसेर विपक्षी नेकपा एमालेलाई भोट मागेको भन्ने आरोप लागेपछि गण्डकी प्रदेश सरकारले मन्त्री हरिशरण आचार्यलाई हटाएको छ ।

गोरखा निर्वाचन क्षेत्र नम्बर-२ को (२) मा नेकपा एमालेका उम्मेदवार राजु रानालाई आचार्यले भोट माग्दै हिँडेको सूचना नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सम्म पुगेको थियो ।

स्रोतका अनुसार प्रचण्डले नै उनलाई हटाउन नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईलाई आग्रह गरेका थिए । आचार्य तात्कालिन नयाँ शक्ति पार्टीबाट निर्वाचित प्रदेश सभा सदस्य हुन ।

मन्त्री आचार्यले भने यसमा कुनै सत्यता नभएको र मन्त्रीबाट हटाएको जानकारी समेत नभएको बताउछन् । ‘मैले कसैको पक्षमा भोट मागेको छैन’, उनले भने- ‘म गएको असोज २१ गतेबाट कुनै पार्टीमा आबद्ध पनि छैन र कसैको चाकडी गरेर मन्त्री भैरहन पनि चाहन्न ।’

तर, मन्त्री आचार्य हाल डा. भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा आबद्ध छन् । उनलाई पार्टीले हटाएको छैन । अहिले सो क्षेत्रबाट नेपाल समाजवादी पार्टीकै केन्द्रिय सदस्य फणिन्द्र देवकोटा प्रदेशसभा उम्मेदवार छन् ।

फणिन्द्रको उम्मदेवारीविरुद्ध उनले प्रदेशसभामा स्वतन्त्रबाट बागी उम्मेदवारी दिएर पछि फिर्ता लिएका हुन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय