ढाका टोपी लगाउँदै रेखाले भनिन्: देशको शिर उच्च राख्नेछु
चन्द्र पौडेलविराटनगर, २१ कात्तिक । मोरङको बेलबारी-३ का कर्ण चेम्जोङले नायिका समेत रहेकी राप्रपा नेतृ एवं निर्वाचन क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा उम्मेदवार रहेकी रेखा थापालाई नेपालीको पहिचान ‘ढाका टोपी’ लगाइदिए । चुनावी घरदैलोमा आफ्नै आँगनमा रेखालाई देखेपछि उनले भने- ‘नेपाली टोपीको अपमान र नेपाली जनताको शिर कहिल्यै झुक्न नदिनु ।’
कम्युनिस्ट पार्टीमा आस्था राख्ने कर्णले ढाकाटोपी लगाइदिएपछि रेखाले भनिन- ‘पुरानो नेतृत्वले देशको शिर झुक्ने गरी धेरै गलत निर्णय गरेको र जनताको मत समेत दुरुपयोग गरेकोले नै म युवा पुस्ताको नेतृत्व गर्न तपाईंको आशिर्वाद लिन आएको हुँ ।’
आइतबार दिउँसो राप्रपाको घरदैलोका क्रममा कर्ण चेम्जोङ र रेखा थापा बिच देशको राजनीति फोहोर बन्दै गएको र त्यसलाई सफा गर्न सबै मिलेर अगाडी बढ्नुपर्ने बारेमा पनि कुराकानी भयो । आफू कम्युनिस्ट विचारबाट प्रभावित भएपनि रेखा थापा जस्तो युवा र हिम्मतवालीलाई सहयोग गर्न तयार रहेको चेम्जोङले बताए । ‘म आफै कम्युनिस्ट विचारबाट प्रभावित र त्यसैमा आस्था राख्ने व्यक्ति हुँ’, उनले भने- ‘तर पुरानो नेतृत्वले हाम्रो शिर झुकाउने काम गर्यो, त्यसैले ढाकाटोपी र देशको शिर उच्च राख्ने जिम्मा अब रेखा थापालाई सुम्पेको छु यी चेलीले हाम्रो टोपीको रक्षा गर्नेछिन् ।’
उनले आफ्नो पार्टीको विचार सही भए पनि नेतृत्व गलत भएका कारण पार्टी नै बदनाम हुनुपरेको गुनासो गरे । अब मंसिर ४ को निर्वाचनबाट मतदाताले सक्षम नेतृत्व चुन्नु पर्ने भन्दै
चेम्जोङले भने, ‘सैद्धान्तिक विकृतिका कारणले राष्ट्र नरहने भएकाले हाम्रो मतलाई परिवर्तन गर्नु पर्छ भन्ने पक्षमा बोलेको हुँ ।’
उनले यसपटक चुनावी नतिजा पुराना र ठुला भनिएका पार्टीको पक्षमा नआउने पक्का भएको भन्दै रेखा थापाको जित सुनिश्चित रहेको बताए ।’हामीलाई पनि पहिले रेखा थापा कमजोर उम्मेदवार जस्तो लाग्थ्यो तर होइन रहेछ’, उनले भने- ‘घरदैलो र मतदातामा देखिएको उत्साहका कारण अब रेखाको प्रतिस्पर्धी नै कोही छैन जस्तो भइसक्यो ।’