चुनावी मैदानमा ४७ दल मात्रै

काठमाडौं, १६ कात्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्ष तर्फ ४७ वटा पार्टी चुनावी प्रतिस्पर्धामा देखिने भएका छन् ।

निर्वाचन आयोगमा ६८ दलले निर्वाचन लड्ने भनेर निवेदन दिएपनी अन्तिम भिडन्तमा ४७ दल मात्रै रहेको देखिन्छ । आयोगका अनुसार प्रत्यक्षतर्फ निर्वाचन क्षेत्रमा कायम रहेको उम्मेदवार वा दलको निर्वाचन चिन्ह मात्र रहेको मतपत्र हुनेछ । तर, समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका लागि ४७ वटा निर्वाचन चिन्ह भएको मतपत्र प्रयोग हुने छ ।

निर्वाचन आयोगमा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधि सभामा सहभागी हुन निवेदन दिएका ६८ वटा दलमध्ये सबै प्रक्रिया पूरा गर्दा ४७ वटा मात्र कायम भएपछि निर्वाचन चिन्ह त्यसै अनुसार तयार पारिएको हो ।

समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुनका लागि निवेदन दिएका मध्ये नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिन्ह लिएका छन् । त्यस्तै नेपाल आमा पार्टी, नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी र नेपाल सुशासन पार्टीले पनि संयुक्त रुपमा एउटै चुनाव चिन्ह लिएका छन् ।

त्यसैगरी सामाजिक एकता पार्टी, नेकपा समाजवादी र नेपाल दलित पार्टीले पनि साझा चुनाव चिन्ह लिएका छन् । प्रतिनिधिसभामा समानुपातिकतर्फ ११० सिट रहेको छ ।

प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ भने प्रदेश अनुसार मतपत्रमा चुनाव चिन्हको संख्या फरक-फरक हुनेछ । जस अनुसार प्रदेश १ मा ५५ वटा निर्वाचन चिन्ह भएको मतपत्र हुने छ भने मधेश प्रदेशमा ५९, बागमती प्रदेशमा ५८, गण्डकीमा ५२ र लुम्बिनीमा ५४ वटा निर्वाचन चिन्ह भएको मतपत्र प्रयोग हुने छ । त्यस्तै कर्णाली प्रदेशमा २८ र सुदुरपश्चिम प्रदेशमा ३४ वटा निर्वाचन चिन्ह भएको मतपत्र प्रयोग हुने आयोगले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय