नेपाली काङ्ग्रेस काठमाडौ-३ को ‘नागरिकसंग उम्मेदवार’ अभियान सुरु
काठमाडौं, १३ कात्तिक । नेपाली काङ्ग्रेस काठमाडौ निर्वाचन क्षेत्र नम्बर-३ निर्वाचन परिचालन समितिले शनिबारदेखि ‘नागरिकसंग उम्मेदवार’ अभियान शुरु गरेको छ ।
नेपाली काङ्ग्रेस काठमाडौ निर्वाचन क्षेत्र नम्बर-३ निर्वाचन परिचालन तथा प्रचारप्रसार समिति संयोजक हरिबोल भण्डारीका अनुसार शनिबार मात्रै आफ्नो पार्टीका उम्मेदवारले विभिन्न ठाउँमा स्थानीय टोलवासीसंग भेटघाट र साक्षात्कार गरेका छन् ।
सो अवसरमा उम्मेदवारहरुले नागरिकका समस्या, गुनासो र विकासका पुर्वाधारको आवश्यकताबारे धारणा बुझेका थिए । उम्मेदवारसँग नागरिकहरुले पनि आफ्नो टोल र समाजको लागि आइपरेका समस्या अवगत गराएका थिए ।
सो अवसरमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर-३ प्रतिनिधि सभा उम्मेदवार सन्तोष चालिसे, प्रदेश सभा (१) उम्मेदवार छिरिङ दोर्जे लामा, प्रदेश सभा (२) उम्मेदवार बिमल ठकुरी र प्रतिनिधि सभा समानुपातिक उम्मेदवार गोविन्द पुडासैनी सहभागी थिए ।
उनीहरुले गोकर्णेश्वर नगरपालिका र काठमाडौ महानगरपालिका वडा नम्बर-६ का विभिन्न स्थानमा नागरिकसङ्ग भेटघाट र साक्षात्कार गरेका थिए । ‘जनतालाई हामी भोट माग्न आयौं मात्रै भन्न गएका होइनौं’ प्रतिनिधि सभा उम्मेदवार सन्तोष चालिसेले भने- ‘नागरिकका समस्या के छन् भनेर बुझ्ने र आशीर्वाद अनि शुभकामना पनि लिने काम गरेका हौं, यसमा जनताको उत्साहजनक सहभागीताले खुशी छु ।’
एक सातासम्म चल्ने यो अभियानमा हरेक गाउँ,टोल र क्षेत्रका नागरिक सम्म काङ्ग्रेसका उम्मेदवार लिएर पुग्ने निर्वाचन परिचालन तथा प्रचारप्रसार संयोजक हरिबोल भण्डारीले जानकारी दिए ।
‘सप्ताह व्यापी कार्यक्रम अन्तर्गत कार्तिक १८ सम्म यो अभियान संचालन हुनेछ’, उनले भने, ‘त्यसपछि उम्मेदवार र पार्टीका साथीहरूसँग बसेर फेरी अर्को कार्यक्रम बन्ने छ ।’