कालीकोटमा बम विस्फोट हुँदा दुई बालिकाको मृत्यु
कालीकोट, १२ कात्तिक । कालीकोटको तिलागुफा नगरपालिका-१० रानावाडामा बम विस्फोट हुँदा दुई बालिकाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

कोदोबारीमा भएको विस्फोटमा परी स्थानीय ४ वर्षिया बालिका झरना थापाको घटनास्थलमै मृत्यु भएको हो भने ४ वर्षीया सरस्वती रानाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

घाइतेहरुमा तिलागुफा नगरपालिका-१० रानावाडका ७ वर्षिय बालक कमल थापा, ५ वर्षीया बालिका मुस्कान थापा, ३ वर्षीया बालिका दर्शना राना रहेका छन् । उनीहरुलाई उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत पठाइएको छ ।
बम नयाँ हो वा पुरानो हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पाँचजना बालबालिका खेलिरहेको ठाउँमा बम विस्फोट भएको थियो ।