झापामा ओली र विश्‍वप्रकाशको जम्काभेट, भयो घोषणापत्रको चर्चा

झापा, ११ कात्तिक । शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माबीच झापाको भद्रपुर विमानस्थलमा जम्काभेट भयो ।

ओली चुनावी कार्यक्रमलाई सम्बोधन गर्न गृहजिल्ला झापा पुगेका थिए भने काँग्रेसको घोषणापत्र समितिको संयोजक समेत रहेका शर्मा झापाबाट काठमाडौं फर्किँदै थिए ।

विमानस्थलमा भएको भेटका क्रममा ओली र शर्माबीच चुनाव र घोषणापत्रका बारेमा चर्चा भएको थियो । ओलीले यो पटक दुई प्रतिस्पर्धी पार्टीको घोषणापत्र तयार पार्ने दुवै झापाली परिएछ भन्दै ठट्टा गरेका थिए ।

एमालेले घोषणापत्र कहिले सार्वजनिक गर्दैछ ? भन्‍ने शर्माको प्रश्‍नमा ओलीले १५ गते भनेपछि शर्माले हाम्रो भोलि (शनिबार) जारी गरेपछि तपाईहरुलाई त केही मिलाउन सजिलो पो हुने भएछ भन्दै ठट्टा गरेका थिए । तर ओलीले जवाफ फर्काइहाले, ‘नो कपी, हाम्रो घोषणापत्र त प्रेसमा गइसक्यो त’ ।

ठट्टाकै क्रममा दुई नेताबीच संसद विघटनको विषयमा समेत कुराकानी भएको थियो । शर्माले ‘घोषणापत्र पाँच वर्षकै त होला नि’ भन्दै ओलीमाथि अर्को प्रश्‍न गरेका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय