टी२० विश्वकपमा आज दुवै खेल रद्द; चार टोलीलाई १-१ अंक
काठमाडौं, ११ कात्तिक । अस्ट्रेलियामा जारी आइसिसी टी२० विश्वकपअन्तर्गत आजका लागि तय भएका दुवै खेल रद्द भएका छन् । निरन्तरको वर्षाले खेलको टस नै हुन नसकेपछि अफगानिस्तान र आयरल्यान्ड तथा अस्ट्रेलिया र इंग्ल्यान्डबीचको खेल रद्द भएको हो ।

विहान पौने ९ बजेका लागि तय भएको अफगानिस्तान र आयरल्यान्डबीचको पहिलो खेलमा टस नै हुन सकेन र धेरै समय खेर गएपछि खेल नै रद्द भएको हो ।

त्यसैगरी दिउँसो पौने २ बजेका लागि तय भएको अस्ट्रेलिया र इंग्ल्यान्डबीचको खेल पनि वर्षाकै कारण टस नै नभई रद्द भयो । इंग्ल्यान्डले यसअघिको खेल पनि वर्षाका कारण डिएल विधिबाट ५ रनले आयरल्यान्डसँग पराजित भएको थियो ।
आजका दुवै खेल रद्द भएपछि चारवटै टोलीले १ १ अंक पाएका छन् । समूह १ मा न्युजिल्यान्ड २ खेलमा ३ अंक जोडेर शीर्षस्थानमा छ भने ३ खेलबाट ३ अंकसहित इंग्ल्यान्ड दोस्रो स्थानमा छ ।
समान खेलमा समान अंक भएपनि आयरल्यान्ड र अस्ट्रेलिया नेटरनरेटका आधारमा क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् । २ खेलमा २ अंक रहेको श्रीलंका पाँचौं र २ खेलमा १ अंक भएको अफगानिस्तान छैटौं स्थानमा छन् ।