भीम रावलको प्रश्न: शीर्ष ठानेका नेतालाई ‘विजयी’ घोषणा गर्ने कि ?
काठमाडौं, ९ कात्तिक । नेकपा एमालेका नेता डा. भीम रावलले शीर्ष ठानिएका नेतालाई विजयी घोषणा गरिदिए कसो होला भन्दै निर्वाचन आयोगसँग आक्रोश पोखेका छन् ।
बुधबार विहान आफ्नो फेसबुक वालमा दुई छुट्टाछुट्टै ‘स्टाटस’लेख्दै रावलले एमालेको महाधिवेशनको प्रसङ्ग समेत उठाएका छन् । ‘कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले ‘शीर्ष’ ठानेका नेताहरूलाई अहिले नै ‘विजयी’ घोषणा गरिदिए कसो होला?’ उनले प्रश्न गरेका छन् ।
एमाले पार्टीले टिकट नदिएपछि पार्टीप्रति आक्रमक बन्दै आएका रावलले निर्वाचन आयोगलाई समेत आक्रोश देखाएका छन् । ‘यद्यपि आयोगको भनाई नेपालको संविधानको धारा १७ को विचार र अभिव्यक्तिको स्वतन्त्रता र १९ को सञ्चारको हक विरूद्ध छ’, उनले भनेका छन्- ‘केही नेताहरूलाई पुनः मतदान नगरौं भनी प्रचार गर्नेहरूलाई निर्वाचन आयोगले कडा सजाय गर्ने भन्ने समाचार पढ्दै गर्दा एमालेको दशौं महाधिवेशन, चितवनमा विद्युतीय मतदान उपकरणमा गोप्य रहनुपर्ने मतपत्र बाहिर ल्याई म लगायतका केही उम्मेदवारलाई मत नदिनु भनी खुला प्रचार गरिएको सम्झना भयो ।’