काङ्ग्रेस काठमाडौं-३ ले ‘मतदातासँग उम्मेदवार’ अभियान चलाउने
काठमाडौं, ८ कात्तिक । नेपाली काङ्ग्रेस काठमाडौं निर्वाचन क्षेत्र नम्बर-३ निर्वाचन परिचालन समितिले ‘मतदातासँग उम्मेदवार’ अभियान चलाउने भएको छ । निर्वाचन परिचालन तथा प्रचारप्रसार समिति संयोजक हरिबोल भण्डारीका अनुसार तिहारलगत्तै अभियान सुरु हुने छ ।
‘हामी हरेक गाउँ, टोल र क्षेत्रका मतदातासम्म काङ्ग्रेसका उम्मेदवार लिएर पुग्नेछौं’ भण्डारीले परेवान्युजसँग भने- ‘सप्ताहव्यापी कार्यक्रम कार्तिक ११ देखि १८ सम्म संचालन हुनेछ,त्यसपछि अर्को कार्यक्रम बन्नेछ ।’
यही विषयमा छलफल गर्न नेपाली काङ्ग्रेस काठमाडौं-३ ले उम्मेदवार र स्थानीय जनप्रतिनिधिबीच छलफल समेत गरेको छ । छलफलमा विगतका तीतामिठा कुरालाई बिर्सेर ‘काङ्ग्रेस जिताउ’ अभियानमा जोडिन सबैलाई आग्रह समेत गरेको छ ।
छलफलमा बोल्दै नेपाली काङ्ग्रेस काठमाडौं निर्वाचन क्षेत्र नम्बर- ३ क्षेत्रीय सभापति एवं प्रतिनिधि सभा उम्मेदवार सन्तोष चालिसेले काठमाडौं- ३ मा नेपाली काङ्ग्रेसका उम्मेदवारहरु शानदार जीतको प्रतीक्षामा रहेको बताएका छन् । उनले आफुहरु हिजो पनि जनताको काम गरेर आएको र भोलीपनि जनताको काम गर्ने दिन नजिक आइसकेको बताए ।
उनले पार्टीभित्र हिजो कसैप्रति न्याय अन्याय केही भएको छ भने पनि त्यसलाई यो चुनावको बेला मनमा ‘तुष’ लिएर बस्न नहुनेमा जोड दिए । ‘हिजोको दिनमा म बाट पनि केही कमजोरी भयो होला, त्यसमा मसँग रिसाउने होइन कि अब सम्बन्ध सुधार गरेर अगाडी बढ्ने हो’, उनले भने- ‘हामी सबै काङ्ग्रेस हौं र काङ्ग्रेस नै भएर विजयको झण्डा फहराउने छौं भन्ने भावना सबैमा हुनुपर्छ ।’
नेपाली काङ्ग्रेसबाट निर्बाचित स्थानीय जनप्रतिनिधिसँग छलफल गर्दै उम्मेदवार चालिसेले अझै उत्कृष्ट रिजल्ट निकाल्न नेपाली काङ्ग्रेसका सबै इकाई सक्रिय हुन आवश्यक रहेको पनि बताए ।
नेपाली काङ्ग्रेसका जनप्रतिनिधिले गएको पाँच वर्षमा गरेका विकास निर्माणका कामहरूको ठीक ढंगले प्रचारप्रसार गर्न आवश्यक भएको भन्दै उनले जनताले चाहेको जस्तै विकास गर्न सक्ने जनप्रतिनिधि काङ्ग्रेसका मात्रै हुने बताए ।
नेपाली काङ्ग्रेस काठमाडौं जिल्ला सचिव एवं समानुपातिक उम्मेदवार गोबिन्द पुडासैनीले नेपाली काङ्ग्रेस एक भएर अगाडी बढेपछि जित सुनिश्चित रहेको बताए । उनले विगतको कुरालाइ मनमा लिने र आन्तरिक लडाइँलाई इख लिएर बस्दा अगाडी बढ्न गाह्रो हुने भन्दै अहिले कोहि पनि व्यक्तिगत रुपमा चुनाव उठेको नभई पार्टी चुनाव उठेको बताए ।
प्रतिनिधि सभा प्रदेश (१) उम्मेदवार छिरिङ दोर्जे लामाले आन्तरिक मतभेद बिर्सेर क्षेत्र नम्बर-३ का सबै उम्मेदवार जिताउन लाग्नुपर्ने बताए ।’हामी सबै नेपाली काङ्ग्रेस हो र नेपाली काङ्ग्रेस नै भएर अगाडी बढ्नुपर्छ’उनले भने-‘ब्यक्तिगत दुश्मनी वा इगो राखेर अगाडी बढ्न खोज्दा पार्टीलाई क्षती हुनसक्छ,त्यसमा सबै सचेत बनौं ।’
क्षेत्र नम्बर ३ प्रदेशसभा (२) उम्मेदवार बिमल ठकुरीले पार्टीमा केही कमि कमजोरी भएपनी मंसिर-४ पछि बसेर छलफल गरौंला भन्दै अहिलेको आवश्यकता काङ्ग्रेस एक भएर अगाडी बढ्नु र सबैले जित्नु मुख्य भएको बताए ।
क्षेत्रीय सचिव एवं गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसालले पार्टी भित्रका मतभेद बिर्सेर काङ्ग्रेसका सबै सदस्यहरु मंसिर ४ को चुनावमा होमिन आवस्यक भएको बताए ।
गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नारायण सुबेदीले जनप्रतिनिधि सङ्ग स्थानीय जनताहरु प्रत्यक्ष जोडिएर विकासका काममा हातेमालो गर्ने अवस्था भएकोले नेपाली काङ्ग्रेसबाट निर्वाचित सबै जनप्रतिनिधिले जनताको हितसँगै पार्टी हितमा पनि काम गर्नुपर्ने बताए ।