गठबन्धन सत्ता स्वार्थ र रहरले होइन, आवश्यकताले हो: शीर्ष नेता

काठमाडौं, ७ कात्तिक । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावी गठबन्धन कुनै व्यक्ति वा दलको रहरले नबनेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजना गरिएको सत्तारूढ सबै दलका बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्र बलियो बनाउन र संविधान रक्षाको लागि गठबन्धन गर्नुपरेको बाध्यता सुनाए ।

‘यो संविधान उत्कृष्ट संविधान हो र यो समावेशी पनि छ, त्यसैले संविधानको रक्षाको लागि गठबन्धन हो’, देउवाले भने- ‘संविधानलाई हामीले स्थायी शान्तिको रुपमा लिएका छौं, त्यसैले रहरले होइन आवश्यकताले गठबन्धन गर्नुपरेको हो ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन गर्न ठूलो मेहनत लागेको भन्दै यसलाई लामो समयसम्म लिएर जाने प्रतिबद्धता जनाए ।’सानो मेहनत र सानो कसरतबाट आफूहरु एकजुट भएको होइन, यो कुरा तपाईं सबैले बुझ्न जरुरी छ’- उनले भने- ‘हामी मिलेर गठबन्धन नगरेको भए देश दुर्घटनामा जाने निश्चित थियो ।’

अध्यक्ष प्रचण्डले प्रतिगमनलाई परास्त गर्न एकजुट भएको भन्दै मंसिर ४ को निर्वाचनलाई सामान्य रुपमा नलिन आग्रह गरे । ‘नेपालमा संविधानसभा सम्भव छैन र राजतन्त्र फाल्न पनि सम्भव छैन भन्ने नेताहरु पनि थिए’ एमाले अध्यक्ष केपी शर्मा ओली तर्फ संकेत गर्दै उनले भने- ‘गिरिजाबाबू र माधवजी जस्ता लोकतान्त्रको पक्षधर पनि त्यहा भएर मात्रै हिजोको गोरुगाढावाला सिद्धान्तका मान्छेले पनि संविधानमा हस्ताक्षर गरेका थिए ।’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनले सबै ठाउँमा गठबन्धनका उम्मेदवार भन्दा अन्त भोट नदिने भएपछि एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओली आत्तीएको बताए । उनले ओलीमा अझै घमण्ड बाँकी रहेकोले केही समयमा आफैं समाप्त हुने दाबी पनि गरे ।

उनले पवित्र उद्देश्यका साथ बनेको गठबन्धन भएकोले मंसिर ४ को निर्वाचनमा जनताको मत पाएर फेरि गठबन्धनकै सरकार बन्ने बताए । ‘गठबन्धनका उम्मेदवारलाई जिताउन सकेनौँ भने प्रतिगमनकारीको मनोबल बढ्छ’ उनले भने- ‘हामीले स्वच्छ भावनाका साथ गठबन्धन गरेका हौं, त्यसैले जनताको विश्वास जितेर अगाडी बढ्न प्रतिबद्ध छौं ।’

कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले सत्तास्वार्थको लागि गठबन्धन नगरेको भन्दै प्रतिगमनका मतियारलाई फाल्न गठबन्धन आवश्यक भएरै बनाएको प्रष्ट पारे । अझैपनी गठबन्धन विरुद्ध भ्रम फैलाइएका छन् भन्दै उनले भने-‘कसैले भ्रम फैलाउन खोजे जस्तो यो सत्तास्वार्थको लागि बनेको होइन’ उनले भने- ‘बहुदलीय व्यवस्थामा दलहरूबीच एक्लाएक्लै प्रतिस्पर्धा हुनुपर्ने हो तर, राष्ट्रलाई जोगाउन गठबन्धन गर्नुपर्यो ।’

उनले छोटो अवधिमा देशलाई समृद्ध बनाउनुपर्ने आवश्यकता औंल्याउदै विकासको मोडेल बनाएर छिटो आर्थिक क्रान्ति गर्नुपर्ने बताए । समानुपातिक र समावेशीतालाई कार्यान्वयन गर्न एकजुट हुनुपर्ने भन्दै डा.भट्टराईले प्रतिगमनलाई रोक्ने गठबन्धन भएकाले यो पवित्र भएको जिकिर गरे । उनले भने-‘हाम्रो गठबन्धन पवित्र नै हो, बरु एमालेले राजावादी शक्तिहरूसँग गरेका गठबन्धन अपवित्र होलान् ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय