गठबन्धनको मर्म र आवश्यकता सबैले बुझ्नुपर्छ: भण्डारी
काठमाडौं, ७ कात्तिक । नेपाली काङ्ग्रेसका युवा नेता तथा नेपाली काङ्ग्रेस केन्द्रिय निर्वाचन प्रचारप्रसार र परिचालन समिति सदस्य हरिबोल भण्डारीले देशभर गठबन्धनको आवश्यकता देखिएको बेला काठमाडौ-३ मा ‘मित्रवत प्रतिस्पर्धा’ भनेर शिर्ष नेताले गठबन्धनको मर्म र आवश्यकता बुझ्न नसकेको बताएका छन् ।
उनले राष्ट्रिय एवं मुलधारका संचार माध्यमले यो विषयमा शिर्ष नेताको ध्यानाकर्षण गराइदिन समेत आग्रह गरेका छन् । मुलधारका संचार माध्यममा कार्यरत संचारकर्मीसँग कुरा गर्दै भण्डारीले अन्य क्षेत्रमा गठबन्धन हुने तर काठमाडौ-३मा चाँहि किन ‘मित्रवत प्रतिस्पर्धा’ भनेर गठबन्धनबाट छुट्टाछुट्टै उम्मेदवार उठाइएको ? भन्ने प्रश्न समेत गरे ।
नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेतृत्व यो विषयमा अझै सिरियस भैदिनुपर्ने उनको आग्रह थियो । ‘यो व्यक्ति वा पार्टीको हारजित भन्दा पनि प्रतिगमन र अग्रगमनको लडाइँ हो’, उनले भने- ‘यसमा उम्मेदवार साथीहरू सकारात्मक देखिनुहुन्छ तर, नेतृत्वले ठिक ढंगले समन्वय गर्नुपर्थ्यो, अझै पनि शीर्ष नेताले यसमा सोच्न सक्ने समय छ ।’
काठमाडौं क्षेत्र नम्बर-३ पर्यटन, उद्योग, धार्मिक क्षेत्र, बौद्धनाथ, सुन्दरीजल वीपी संग्रहालय, बागमती सभ्यता र विकासको केन्द्र बन्दै गएकोले यहाँको विकासका लागि सरल र भद्र उम्मेदवार आवश्यक रहेको पनि उनले बताए । जनताको समस्यादेखि भाग्नेलाई होइन जनताको आवश्यकता बुझ्ने र मर्दा-पर्दा भेटिने उम्मेदवारलाई जिताउनुपर्ने उनको तर्क थियो । २०४६ सालको जनआन्दोलनदेखि जनताकै काम गर्दै आएका सन्तोष चालिसे जस्ता बिकासप्रेमी र जनताको पिर मार्का बुझेको ब्यक्तिलाई उम्मेदवार बनाइएकोले जित सुनिश्चित गर्न सबै लाग्नुपर्ने उनको भनाइ थियो ।
अहिले आफ्नो भुमिका चुनावमा उत्कृष्ट नतिजा ल्याउने तर्फ मात्रै केन्द्रित रहेको भन्दै काठमाडौं क्षेत्र नम्बर -३ का चुनावी कमान्डर समेत रहेका भण्डारीले आफुहरुले यो क्षेत्रमा अगाडि सारेका सबै उम्मेदवार जनतालाई आबश्यक पर्दा तुरुन्तै घरदैलोमा पुग्ने सरल र असल उम्मेदवार भएकोले जिताउनै पर्नेमा जोड दिए ।
उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ र ३ एक अर्कासँग धेरै हिसाबले निकट रहेकोले शीर्ष नेतृत्वले २ लाई जत्तिकै माया र साथ ३ लाई पनि दिनुपर्ने बताए । शीर्ष नेताले त्यसरी नसोच्ने हो भने स्थानीय नेताकार्यकर्तामा ऊर्जा घटेर जाने उनको तर्क थियो । ‘कुनै क्षेत्र जित्ने र कुनै हार्ने अवस्था आयो भने त्यसको नोक्सानी शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई पनि हुने कुरा बुझ्न आवश्यक छ’ उनले भने- ‘त्यसैले सबै क्षेत्रमा उत्कृष्ट नतिजा निकाल्न गठबन्धनको मर्म र आवश्यकता बोध हुनुपर्छ ।’
भण्डारीले गठबन्धन धरापमा पार्ने वा आफुलाइ मन परेको उम्मेदवारलाई मात्रै बोकेर हिँड्ने काम कसैले गर्न नहुने पनि बताए । गठबन्धनमा बसेपछि ‘मित्रवत प्रतिस्पर्धा’ मात्रै भन्दा पनि चुनाव जसरी पनि जित्नेगरी लाग्न गठबन्धनका सहयात्री दलहरूलाई समेत उनले आग्रह गरे ।
काठमाडौं क्षेत्र नम्बर ३ मा नेपाली काङ्ग्रेसले प्रतिनिधि सभामा सन्तोष चालिसे र प्रदेस सभा(१) छिरिङ दोर्जे लामा र प्रदेस सभा(२) बिमल ठकुरीलाई उम्मेदवार बनाएको छ ।