चुनावपछि पनि काङ्ग्रेसकै सरकार: बस्नेत
काठमाडौं, २ कात्तिक । नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य एवं पुर्वमन्त्री अम्बिका बस्नेतले मंसिर ४ को निर्वाचन पछि पनि गठबन्धनकै सरकार बन्ने र काङ्ग्रेसले नै सरकारको नेतृत्व गर्ने बताएकी छिन् । उनले अब पनि काङ्ग्रेसकै नेतृत्वमा सरकार बन्ने भएकोले कोहि पनि साथीहरू आत्तिन आवश्यक नभएको बताइन् ।

काठमाडौं क्षेत्र नम्बर-३ युवा परिचालन समितिको आयोजनामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले नेपाली काङ्ग्रेसले मात्रै देशमा आर्थिक समृद्धि र विकाससँगै लोकतन्त्र र संविधानको रक्षा गर्ने पनि बताइन् । उनले गठबन्धनलाई जिताउन काङ्ग्रेसका सबै सदस्यले आफ्नो जिम्मेवारी हो भन्ने बुझेर अगाडि बढ्नुपर्ने बताउँदै ‘यो क्षेत्रका नेपाली काङ्ग्रेसका सबै उम्मेदवार काम गरेर देखाइसकेका उम्मेदवार हुन् त्यसैले गरेको कामको प्रचार गर्न जनताको घरदैलो सम्म पुगौं’ भन्ने अपिल गरिन ।

नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति एवं क्षेत्र नम्बर-३ प्रतिनिधि सभा उम्मेदवार सन्तोष चालिसेले नेपाली काङ्ग्रेसले चुनाव जितेर मात्रै लोकतन्त्र सुदृढ र जनतासङ्ग जोडिएर विकासको काम गर्न सक्ने बताए । उनले मंसिर ४ पछि पनि नेपाली काङ्ग्रेसको नेतृत्वमा सरकार बन्ने ठोकुवा गर्दै यस क्षेत्रमा जस्तोसुकै परिस्थितिको पनि सामना गर्न सक्ने पार्टी नेपाली काङ्ग्रेस नै भएको जनताले बुझिसकेको बताए ।
नेपाली काङ्ग्रेस केन्द्रिय चुनाव प्रचारप्रसार समिति सदस्य एवं क्षेत्रीय प्रचारप्रसार संयोजक हरिबोल भण्डारीले टोल र क्षेत्रको विकास गर्न सक्ने नेताले अब देश बनाउन पनि सक्छ भन्ने विश्वास लिएर सबै उम्मेदवार जिताउन एकजुट हुने बेला आएको बताए । घोषणापत्रमा के छ भनेर हेरेर भन्दा पनि जनताको अपेक्षा के छ भन्ने पनि बुझेर काम गर्न सक्ने उम्मेदवार हामीले पाएको भन्दै उनले चुनाव जित्ने वा हार्ने भन्दा पनि काम गर्न छाड्न नहुने दृढता व्यक्त गरे । ‘चुनाव जितेर मन्त्री बन्नेले गर्न नसकेको काम हामिले हारेका ठाउँमा पनि गर्न सकेका छौ’, उनले भने- ‘अब सबै क्षेत्र जितेपछि हामिले गर्न नसक्ने केही छैन ।’
उनले नेपाली काङ्ग्रेसले उठाएका उम्मेदवारलाई जिताउन नेपाली काङ्ग्रेसका कुनैपनि साथीहरूले कन्जुस्याइँ गर्न नहुने भन्दै एक भोटले पनि हामीलाई लोकतन्त्र रक्षाका लागि उर्जा मिल्न सक्ने बताए । ‘नेपाली काङ्ग्रेसको नेतृत्वलाई चुनाव जिताएपछि ओलीको जस्तो प्रतिगामी बन्न दिने छैनौ र बन्दैन पनि’, उनले भने- ‘मंसिर ४ सम्मको अभियानलाई आफ्नो कर्तव्य सम्झेर काङ्ग्रेसका हरेक सदस्यले आफुलाई समर्पित गर्ने बेला यहि हो ।’
प्रदेशसभा(क) उम्मेदवार छिरिङ दोर्जे लामाले निर्वाचन जित्ने कुरा भन्दा पनि जनताको सेवा गर्ने कुरा ठूलो हो भन्दै आफुले विगतमा गरेको विकास निर्माणको कामले नै अहिलेको जित सुनिश्चित भएको बताए । उनले सन्तोष चालिसेले गोकर्णेश्वरको मेयर हुँदा गरेको विकास र आफुले बागमती प्रदेश सांसद हुदा गरेको कामले यो निर्वाचन क्षेत्रका तिनै सिट जित्न सकिने बताए ।
प्रदेश सभा(ख) उम्मेदवार बिमल ठकुरीले हामीलाई अब चुनाव हार्ने छुट छैन भन्दै सबै नेताकार्यकर्ताले जनताको घरदैलो सम्म पुगेर नेपाली काङ्ग्रेसका उम्मेदवारलाई भोट माग्नुपर्नेमा जोड दिए ।
गोकर्णेश्वर नगरपालिकाका मेयर तथा नेपाली काङ्ग्रेस क्षेत्रीय सचीव दिपक रिसालले यस क्षेत्रका सबै उम्मेदवारलाई बिजयी गराउन सबै लाग्नुपर्नेमा जोड दिए । उनले काङ्ग्रेसले जित हासिल नगरेसम्म साथीहरू थाक्न नहुने बताए ।
युवा परिचालन समिति संयोजक सन्जय लामाको सभापतित्व र क्षेत्रीय सह-सचीव सुदिप पन्डितले सन्चालन गरेको कार्यक्रममा नेपाली काङ्ग्रेसका नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।