माटाका भाँडा बनाउने पेशा लोप हुँदै

चन्द्र पौडेल

उज्यालोको पर्व तिहार नजिकिएसँगै नेपालीहरुको घर आँगनमा पनि उज्यालो छाउन थालेको छ । तिहारका बेला बनाइने उज्यालोका लागि पहिले स्थानीय स्तरमा नै बनाइएका वस्तुहरुको प्रयोग गर्ने गरिन्थ्यो । तर अहिले भने आधुनिक साधनहरुले त्यसलाई विस्थापन गर्दै गइरहेको छ ।

कुमाल जातिको परम्परागत पेशा र पहिचान अहिलेको समयमा लोपोन्मुख हुने अवस्थामा पुगेको छ । चिम्ट्याइलो माटोलाई मुछेर, पिटेर आवश्यकताअनुसारको आकार दिने कला कुमाल जातीको लोक संस्कृतिअन्तर्गत पर्दछ ।

‘काँचो माटो जता लग्यो त्यतै जान्छ’ भन्ने उखान उखानमै सीमित हुने अवस्थामा आउन थालेको छ । बुढापाकाले आफुभन्दा सानालाई अर्ती दिन प्रयोग गर्ने यो उखान यही पेशाको अनुशरण हो ।

मोरङको बेलबारी नगरपालिकामा विगत २५ वर्षदेखि यहि माटोको भाडाकुँडा बनाएर आफ्नो र परिवारको जीविका चलाउँदै आएका ३५वर्षीय राम नारायण पण्डितलाई यस पटक भने पछिल्ला वर्षहरु जस्तो भ्याइनभ्याई भने छैन । विगत केहि वर्ष अघिसम्म त्यो ठाउँमा माटाका भाँडाकुँडा प्रशस्तै भए पनि हाल खासै भेटिंदैनन् । नजानेकाहरु विदेश अथवा अन्य व्यापार र पसल गर्न थाले ।

माटोको भाँडा बनाउने पेशाप्रति युवापुस्ताको आर्कषण हुन नसक्नु तथा माटो, दाउरा, पराललगायत कच्चापदार्थको अभावमा माटाको भाँडा बनाउने पेशा नै परेको हो । माटाका हाँडी, घैंटा, पाला, गमला, आरीलगायतका वस्तु परम्परादेखि नै घरायसी प्रयोजनमा सहज मानिन्छन् । ‘पहिलेजस्तो माटो पनि छैन । बस्ती बाक्लो भयो । जुन पायो त्यही माटोले भाँडा राम्रो बन्दैन । पहिला यतै पाउने माटो अहिले एक टयाक्टर माटो पनि सप्तरीको बरमझीयाबाट यहाँसम्म ल्याईपुर्‍याउँदा १५ हजार सम्म लाग्ने गरेको छ’, पण्डितले दुखेसो पोखे ।

होण्डा(मदिरा बनाउन प्रयोग हुने भाँडो), घैंटो(पानी चिसो बनाउन प्रयोग गरिने भाँडो), हाँडी(मकै भुट्न प्रयोग हुने भाँडो), खुत्रुकी(पैसा बचत गर्न प्रयोग गरिने भाँडा) जस्ता महत्वपूर्ण
सामग्री बनाउने हस्तकलाको लोप हुन थालेको छ ।

माटोको भाँडा लोप हुनुको कारण प्लाष्टिकको भाँडा बजारमा आउनु, बाक्लो बस्तीका कारण चिम्टयाइलो माटोको अभाव हुनु र आम्दानीभन्दा मिहनत धेरै गर्नुपर्ने भएकाले यो
पेशा छाडेर अन्य काम गर्न बाध्य रहेको उनीहरु बताउँछन् । स्थानीय बासिन्दा आरती पण्डिलले माटोको अभाव, जोखिमको पेशा र यो पेशाप्रति युवाको कम
आकर्षण हुँदै गएपछि माटोका सामग्रीहरु बनाउने काम केही वर्षदेखि कम हुँदै गएको उनले बताईन् ।

बुढापाकाको मृत्यु भएपछि युवापुस्ताले यो काम सिक्न नै नचाहेकाले पुर्ख्यौली पेशा नै अहिले सङ्कटमा परेकोमा उनको दुखेसो छ । कुमालको घरमा चर्खा नै छैन माटोको भाँडा निर्माण गर्न प्रयोग गरिने साधन चर्खा हो । यो साधन माटो, खसीबोकाको रौं मोलेर निर्माण गरिएको हुन्छ ।

यहाँका अधिकांश कुमाल जातिको घरमा चर्खा नै छैन, भएका चर्खामा पनि माकुराको जालो लागेको छ । कुमाल जातीको घरमा चर्खा नहुनु भनेको विध्यार्थीको झोलामा कापी, कलम नहुनुजस्तै हो । चर्खालाई घुमाउँदै माटोलाई हातले जता माड्यो त्यतै माटोको स्वरुप आउँछ र निमार्ण गरिन्छ चाहेको सामग्री । यही कला र पेशा कुमालको पहिचान हो ।

धर्म, संस्कृति परम्परा लोप हुन लागेको चिन्ता छ केही अग्रज कुमालेहरुलाई । गाउँगाउँमा सिंहदरबार आएको भनिए पनि कुमाल जातीको संस्कृति संरक्षणमा कसैको चोसो पुग्न सकेको छैन् ।

युवापुस्ता विदेश पलायन भएका छन् अझ भनौ वैकल्पिक पेशा तर्फ केन्द्रित भएका छन् । पिँढी कुरेर बस्ने बुढापाका जवानीमा माटोको भाँडा बनाएको सम्झिदैं बस्ने गरेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय