को हुन काठमाडौं-३ मा गठबन्धनका उम्मेदवार ?

काठमाडौं, २९ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि उम्मेदवारहरुको अन्तिम नामावली निर्वाचन आयोगले प्रकाशित गरिसकेको छ ।

देशभर केही छिटफुट ठाउँबाहेक सत्ता गठबन्धनका साझा उम्मेदवार चुनावी मैदानमा खडा भइसकेका छन् । यसै सन्दर्भमा काठमाडौं क्षेत्र नम्बर-३ मा पनि गठबन्धनका उम्मेदवार मैदानमा आइसकेका छन् ।

यहाँको प्रतिनिधिसभा र प्रदेशसभाका दुवै क्षेत्रमा नेपाली काङ्ग्रेसले गठबन्धनकै हैसियतमा उम्मेदवारी दिएको छ । यद्यपि यहाँ गठबन्धनभित्रको माओवादी केन्द्रले चाहिँ छुट्टै उम्मेदवारी दिएको छ ।

यो क्षेत्रमा नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र नम्बर-३ का सभापति एवं गोकर्णेश्वर नगरपालिकाका प्रथम मेयर सन्तोष चालिसे प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । यसैगरी नेपाली काङ्ग्रेस बागमती प्रदेश सदस्य एवं बागमती प्रदेशका निवर्तमान सांसद छिरिङ दोर्जे लामा प्रदेश(क) र बिमल ठकुरी प्रदेश(ख) को प्रदेश सभा उम्मेदवार छन् । ठकुरी पार्टीको पनि प्रदेश (ख) का सभापति हुन् ।

प्रतिनिधिसभा सदस्यका उम्मेदवार चालिसे पञ्‍चायत कालदेखि लोकतन्त्र कालसम्म विभिन्न पदमा जनप्रतिनिधि भएर काम गरेका व्यक्तित्व हुन् । उनले लामो समय नेपाली काङ्ग्रेसको राजनीतिमा आफुलाइ सक्रिय र समर्पित गर्दै आएका छन् । उनको कार्यकालमा गोकर्णेश्वर नगरपालिकाको भौतिक र धार्मिक एवं सामाजिक क्षेत्रमा धेरै विकासका काम भएका छन् ।

यसैगरी भुगर्भबिदको रुपमा काम गरेका इमानदार र सरल व्यक्तित्व छिरिङ दोर्जे लामाले अघिल्लो कार्यकालमा प्रदेशको नीति निर्माण र कानुन निर्माणमा मुख्य भुमिका खेलेका छन् । विकासको हरेक क्षेत्रमा जनताको चाहना बमोजिम खटेर काम गरेका छिरिङले धार्मिक, सामाजिक र विकास पुर्वाधार निर्माणका लागि योजना कार्यान्वयन तहसम्म भुमिका खेलेका छन् । अहिलेको उम्मेदवारी अघिल्लो कार्यकालमा बाँकी रहेका कामलाई पुर्णता दिनको लागि भएको छिरिङले बताए ।

यसैगरी नेपाली काङ्ग्रेसको राजनीतिमा मुख्य भुमिका खेल्दै आएका स्व.चक्रबहादुर ठकुरीका सुपुत्र बिमल ठकुरीको उम्मेदवारी प्रदेश सभामा विपक्षीको लागि भारी पर्ने देखिन्छ । अघिलो पटक थोरै मतले चुनाव हारेका ठकुरी पुरानै प्रतिस्पर्धी नेकपा एमालेका रामेश्वर फुयालसँग चुनावी प्रतिस्पर्धा गर्दैछन् । फुयाँलले यो क्षेत्रमा जति गर्न सक्ने र गर्नुपर्ने हो त्यति काम गर्न नसकेको जनगुनासोका बिच बिमलको उम्मेदवारीले यो क्षेत्रका जनता खुशी भएको काङ्ग्रेसको बुझाइ छ ।

काठमाडौं क्षेत्र नम्बर ३ का उम्मेदवारलाई नेपाली काङ्ग्रेस, नेकपा एकीकृत समाजवादी र जनमोर्चाको समर्थन रहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय