डडेल्धुरामा एमालेले बिपी काँग्रेसलाई नसघाउने
डडेल्धुरा, २९ असोज । डडेल्धुरा क्षेत्र नम्बर १ मा नेकपा एमाले र नेपाली काँग्रेस बिपीका बीचमा भएको चुनावी तालमेल भङ्ग भएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै एमालेले तालमेल नगरिने जनाएको हो ।

सहमतिअनुसार प्रतिनिधिसभामा काँग्रेस बीपीका कर्णबहादुर मल्ललाई एमालेले सघाउने र प्रदेशसभाको क र ख दुवैमा काँग्रेस बीपीले एमालेलाई सघाउने कुरा थियो । त्यसैअनुसार एमालेले चत्रप्रसाद स्नेहीको उम्मेदवारी समेत फिर्ता गराएको थियो ।

यो निर्णय कार्यान्वयन भए डडेलधुराको प्रतिनिधिसभामा एमालेको उम्मेदवार कोही हुने छैनन् । प्रदेशसभामा भने क मा पठान सिंह बोहरा र ख मा गजेन्द्रबहादुर शाही उम्मेदवार छन् ।
मल्ल आफ्नै पूर्वसहकर्मी एवम् काँग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध चुनावी मैदानमा छन् । यसै क्षेत्रबाट स्वतन्त्र उम्मेदवारका रुपमा सागर ढकाल पनि चर्चित छन् ।