काठमाडौं-३ मा काङ्ग्रेसको चुनावी अभियान सुरु

काठमाडौं, २८ असोज । नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य एवं पूर्व मन्त्री अम्बिका बस्नेतले आगामी मंसिर-४ को निर्वाचनमा नेपाली काङ्ग्रेसले बहुमत ल्याएर सरकार बनाउने कुरामा शंका नगर्न नेताकार्यकर्तालाई आग्रह गरेकी छन् ।

उनले काङ्ग्रेसले गठबन्धनको नेतृत्व पनि गरेको सन्दर्भमा गठबन्धनलाई कायम राख्दै पार्टीलाई सुदृढ गर्नुपर्ने काङ्ग्रेसको लागि चुनौती भएको भन्दै उनले अब क्षेत्र नम्बर-३ का सबै सिटमा काङ्ग्रेसको झन्डा फहराउने दायित्व आम नेताकार्यकर्ताको भएको बताइन् ।

समानुपातिक उम्मेदवार समेत रहेकी बस्नेतले गठबन्धनले प्रत्यक्षतर्फको सिट कम भएपनि समानुपातिक तर्फ अत्यधिक मतले काङ्ग्रेसले सरकार बनाउनेगरी लाग्न सबैसँग आग्रह समेत गरिन् ।

नेपाली काङ्ग्रेस काठमाडौ क्षेत्र नम्बर-३ का क्षेत्रीय सभापति तथा क्षेत्र नम्बर-३ प्रतिनिधि सभा उम्मेदवार सन्तोष चालिसेले नेपाली काङ्ग्रेसले चुनाब जिते मात्रै लोकतन्त्र सुदृढ हुने र विकासको गति अगाडि बढ्ने बताए । उनले नेपाली काङ्ग्रेसको उम्मेदवारलाई जिताउने जिम्मा अब आम मतदाता, कार्यकर्ता, शुभेच्छुक र समर्थकको भएको पनि बताए ।

नेपाली काङ्ग्रेस बागमती प्रदेश सदस्य एवं प्रदेस(क)का उम्मेदवार छिरिङ दोर्जे लामाले हामी सबैमा प्रजातन्त्र र नेपाली काङ्ग्रेसको रगत बगेको भन्दै हिजोका तिता मिठा कुरा केही भएपनि त्यसलाई बिर्सेर अब एकजुट भएर काङ्ग्रेसका उम्मेदवार जिताउन लाग्नुपर्नेमा जोड दिए । उनले आफू लगायत कोहि पनि उम्मेदवार व्यक्तिगत रुपमा चुनाव लडेको नभै सिङ्गो नेपाली काङ्ग्रेस पार्टी चुनाव लडेको र लोकतन्त्रको रक्षा र बिकासको लागि काङ्ग्रेसले जित्न आवश्यक भएको बताए ।

नेपाली काङ्ग्रेस क्षेत्र नम्बर-३ का क्षेत्रीय सचीव भुवन लामाले पार्टी केन्द्रको निर्णय अनुसार नै गठबन्धनलाई जिताउने अभिभारा सबैको काँधमा आएको बताए । यस क्षेत्रमा उम्मेदवारी दिएका सबै नेपाली काङ्ग्रेसका साथीहरूले जित्नु आवश्यक भएको उनको जोड थियो । उनले उम्मेदवार हुने आकान्क्षा धेरैको हुनसक्छ तर पार्टीले निर्णय लिइसकेपछि पार्टी केन्द्रले गरेका निर्णय स्वीकार गर्न सक्नु महानता हो भन्दै स्वतन्त्र वा बागी उम्मेदवारलाई स्वार्थी नबन्न आग्रह गरे ।

नेपाली काङ्ग्रेस काठमाडौ क्षेत्र अर्का क्षेत्रीय सचीव एवं गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसालले काङ्ग्रेस जिताउने एकसुत्रीय एजेन्डा बोकेर जनताको घरदैलोमा जानुको विकल्प छैन भन्दै बिकास र समृद्धिको लागि यो क्षेत्रमा सबै सिट काङ्ग्रेसले जित्नुपर्ने औंल्याए ।

क्षेत्र नम्बर-३ प्रदेश (क) सभापति श्रीराम चालिसेले पार्टी निर्णय लिएको कुरामा अब एकजुट भएर मतदाता र कार्यकर्तामा जानुपर्ने बेला आएको बताए । उनले यो क्षेत्रको सबै पदमा उम्मेदवार पाएकोमा खुशी ब्यक्त गर्दै नेपाली काङ्ग्रेसका सबै उम्मेदवार जिताउन अब पार्टी नेताकार्यकर्ताको मुख्य भुमिका हुने बताए ।

क्षेत्र नम्बर-३ प्रदेश (ख) का सभापति एवं प्रदेश सभा उम्मेदवार बिमल ठकुरीले उम्मेदवारलाई भन्दा पनि पार्टीलाई हेरेर एकजुट हुन आग्रह गरे ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय