गठबन्धनलाई लालबाबुको काउन्टर: मधेशबाट मन्त्री हटाउने तयारी

काठमाडौं, २८ असोज । केन्द्रीय सरकारबाट जनता समाजवादी पार्टी (जसपा)का मन्त्री बर्खास्त भएसँगै जसपाको नेतृत्वमा रहेको मधेश प्रदेशबाट पनि गठबन्धनका तीन दलबाट रहेका मन्त्रीहरु हटाउने तयारी थालिएको छ ।

बिहिबार प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका चार मन्त्रीलाई बर्खास्त गरेसँगै मधेस प्रदेशमा पनि जसपाले नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी (एस) र माओवादीका मन्त्री हटाउने तयारी गरेको हो ।

मधेस प्रदेशमा जसपाका नेता लालबाबु राउत मुख्यमन्त्री छन् । जसपाको नेतृत्वमा काँग्रेस, नेकपा एस र माओवादी केन्द्रका मन्त्रीहरू सरकारमा सहभागी छन् ।

मधेस प्रदेश सरकारमा काँग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह छन् ।

नेकपा एकीकृत समाजवादीबाट उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो र कानुन, न्याय तथा प्रदेश सभा मामिलामन्त्री प्रमोद यादव र राज्यमन्त्री नागेन्द्रराय यादव छन् । यस्तै नेकपा माओवादी केन्द्रबाट गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह र राज्यमन्त्री रूवीकुमारी कर्ण छन् ।

उनीहरुले राजीनामा नदिए मुख्यमन्त्रीले बर्खास्त गर्ने जनाइएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय