सालाहको कीर्तिमानी ह्याट्रिक, लिभरपुलको फराकिलो जीत
काठमाडौं, २७ असोज । यूरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुलले फराकिलो जीत निकालेको छ । लिभरपुलले रेन्जर्सलाई उसकै मैदानमा ७-१ गोलअन्तरले हराएको हो ।
लिभरपुलको जीतमा सालाहले ह्याट्रिक पूरा गर्दा रोबर्टाे फर्मिनोले दुई तथा डार्विन नुनेज र हार्भे इलिओटले एक एक गोल गरे । घरेलु टोलीका स्कट अर्फिल्डको गोल सान्त्वना बन्यो ।
खेलमा अग्रता भने रेन्जर्सले लिएको थियो । १७औं मिनेटमा लिभरपुलविरुद्ध अग्रता लिन सफल भएको थियो । स्कट अर्फिल्डले रायन ज्याकको पासमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।
२४औं मिनेटमा फर्मिनोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ५५औं मिनेटमा फर्मिनोले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरेपछि लिभरपुल खेलमा २–१ ले अघि बढ्यो ।
६६औं मिनेटमा फर्मिनोको पासमा डार्विनले गोल गरेपछि लिभरपुल सहज जीततर्फ अगाडि बढ्यो । त्यसपछिका तीन गोल सालाहले बेन्चबाट आएर गरे । उनले ७६औं, ८०औं र ८२औं मिनेटमा गोल गर्दै ६ मिनेट १२ सेकेन्डको अन्तरमा ह्याट्रिक पूरा गरेर च्याम्पियन्स लिगमा सबैभन्दा छिटो ह्याट्रिक पुरा गर्ने कीर्तिमान बनाएका छन् ।
८७औं मिनेटमा हार्भे इलिओटले गोल गर्दै लिभरपुलको ७-१ को फराकिलो जित सुनिश्चित गरे । जीतसँगै लिभरपुल समूह ‘ए’ मा ९ अंक जोडेर नकआउट चरणको नजिक पुगेको छ । पराजित रेन्जर्स अंकविहीन हुँदै पुछारमा छ ।