नेपाली काङ्ग्रेस वीपीबाट धादिङमा ६ उम्मेदवार
काठमाडौं, २५ असोज । नेपाली काङ्ग्रेस वीपीले धादिङबाट प्रत्यक्ष तर्फ प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई उम्मेदवार उठाएको छ । यसैगरी समानुपातिकतर्फ पनि प्रतिनिधि सभामा एक जना र प्रदेश सभामा २ जनाको उम्मेदवारी बन्दसूचीमा समावेश छ ।
सो पार्टीले धादिङ क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभामा शंकर परियारको उम्मेदवारी दर्ता गराएको छ । उनी नेपाली काङ्ग्रेसबाट पूर्व महाधिवेशन प्रतिनिधि भइसकेका पुराना काङ्ग्रेस नेता हुन् । नेपाली काङ्ग्रेस महामानव वीपीको समाजवादको कुरा बाट माओवाद(प्रचण्डवाद) तिर ढल्केपछि परियार नेपाली काङ्ग्रेस वीपीमा आवद्ध भएका हुन् ।
यसैगरी नेपाली काङ्ग्रेस वीपीले प्रदेशसभामा क्षेत्र नम्बर-२ (ख)बाट सेतेमान घलेलाई प्रत्यक्ष उम्मेदवार बनाएको छ । उनी जेल जीवन बिताएका र काङ्ग्रेसमा पुर्व महाधिवेशन प्रतिनिधि भइसकेका नेता हुन् । उनले हालको सानेपा काङ्ग्रेसले प्रजातान्त्रिक मूल्य मान्यता समेत बिर्सेर स्वार्थको लागि कम्युनिस्टसँग गठबन्धन गरेको भन्दै सच्चा वीपीका समर्थकले अब नेपाली काङ्ग्रेस वीपीको झन्डामा एकताबद्ध भै करुवामा मतदान गर्ने बेला आएको बताए ।
त्यसैगरी नेपाली काङ्ग्रेस वीपीले धादिङ क्षेत्र नम्बर-१(ख) बाट एकराज सिलवाललाई प्रत्यक्ष उम्मेदवार बनाएको छ । सिलवाल नेपाली काङ्ग्रेसमा सरल र आदर्शवान नेताको रुपमा चिनिएका पुराना राजनीतिक व्यक्तित्व हुन । वीपी कोइरालाको सिद्धान्त र विचारप्रती निष्ठावान् नेता सिलवाल धादिङ काङ्ग्रेसको पुर्व क्षेत्रीय सभापति समेत हुन । उनले नेपाली काङ्ग्रेसले वीपीको सिद्धान्त नै छाडेर कम्युनिस्टको भरिया भएको भन्दै नेपाली काङ्ग्रेस त्यागेर नेपाली काङ्ग्रेस वीपीमा आवद्ध भएको बताए ।
त्यसैगरी श्याम बहादुर मग्रातीलाई प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार बनाइएको छ । नेपाली काङ्ग्रेसले भन्दा नेपाली काङ्ग्रेस वीपीले राष्ट्रियता,लोकतन्त्र र समाजवादको सपना पूरा गर्ने भएकोले आफुले समानुपातिकमा उम्मेदवारी दिएको मग्रातीले बताए ।
त्यस्तै सो पार्टीले बागमती प्रदेस सभाको लागि केन्द्रिय सदस्य एव जिल्ला सभापति कल्पना अधिकारीलाई प्रदेशको समानुपातिक उम्मेदवार बनाएको छ । नेपाली काङ्ग्रेस वीपीमा आवद्ध हुनु अगाडी नेपाली काङ्ग्रेसको विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेकी नेतृ अधिकारी धादिङमा लोकप्रिय महिला नेतृको रुपमा चिनिन्छिन् ।
त्यस्तै पार्टीले कर्णबहादुर मोक्तानलाई धादिङ क्षेत्र नम्बर-१ बाट बागमती प्रदेश समानुपातिक उम्मेदवार बनाएको छ । उनी पार्टीको उर्जावान र पार्टी सिद्धान्त प्रति प्रतिबद्ध व्यक्तित्व हुन् ।