काँग्रेस नेता परशुराम भन्छन्: जिताउन हिँडौं कि राजनीति छाडौं ?

काठमाडौं, २४ असोज । नेपाली काँग्रेसका नेता परशुराम पोखरेलले काठमाडौं क्षेत्र नम्बर-३ बाट उम्मेदवारी दिएका नेपाली काँग्रेसका उम्मेदवारलाई बधाई र शुभकामना दिएका छन् । साथमा पोखरेलले आफ्ना केही मनका कुरा पनि फेसबुकमा सार्वजनिक गरेका छन् ।

नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि, पुर्व महासमिति सदस्य, काठमाडौं-३ का पूर्व क्षेत्रीय सभापति तथा वीपी संग्रहालयका संस्थापक अध्यक्ष समेत रहेका पोखरेलले आफ्नै समितिमा सँगै काम गरेका साथीहरूले अवसर पाएकोमा खुशी व्यक्त गर्दै आफुसँग चाहिँ दुई विकल्प रहेको खुलासा गरेका छन् ।

उनले २०३६ सालको जनमतसंग्रहमा बहुदलको पक्षमा काम गर्न नेपाली काँग्रेसको सदस्य भएर प्रहरी हिरासतमा बसेको देखि सुन्दरीजलको इकाई अध्यक्ष, २०४२ सालको सत्याग्रहमा प्रशासनले समातेको, ०४६ को जन आन्दोलन र माओवादी द्वन्द्वको समयमा रूकुम रोल्पा गएर पार्टीको लागि काम गरेको स्मरण पनि गरेका छन् ।

पार्टीका कार्यकर्ता माओवादी अपहरणमा पर्दा राति १० बजे जोरपाटीका साथीहरू कोही पनि माओवादीको शेल्टर जान नसक्दा वा नखोज्दा आफु गएर छुटाएर ल्याएको स्मरण पनि उनले गरेका छन् ।

पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने क्रममा कुनैपनि मोर्चाबाट पछि हट्न नजानेको, वीपी संग्रहालय बनाउन गरेको साहस, सैनिक हिरासतको पीडा, २०६२/०६३को आन्दोलनमा राजतन्त्रको विरोध गर्दा पुलिस हिरासतको भोगाइ सम्झदा दु:ख भन्दा गर्व लागेको पनि उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

आफुसँग प्रतिस्पर्धामा रहेका साथीहरू केन्द्रीय सदस्य र मन्त्री बनिसकेको देखि आफूभन्दा पछि क्षेत्रीय सभापति भएको व्यक्ति मन्त्री तथा पार्टी महामन्त्री भइसकेको स्मरण गर्दै उनले अहिले क्षेत्रीय नेतृत्वमा भएका साथीहरु पनि आफ्नै क्षेत्रीय कार्य समितिमा बसेर काम गरेको सम्झदा आनन्द लागेको उनले लेखेका छन् ।

२०६४ साल देखी क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस हुँदै आएको र यसपटक पनि प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारको आकांक्षी भएको तर पनि पार्टीले टिकट नदिएको प्रति कुनै गुनासो समेत नभएको पोखरेलले लेखेका छन् ।

उनले अब आफुसँग दुइवटा विकल्प भएको भन्दै अगाडि लेखेका छन्- ‘पार्टीलाई जिताउन कम्मर कसेर लागौं या मैले माथि भनेजस्तै क्षेत्रीय सभापतिमा लड्ने साथी मन्त्री बन्नु भयो, मेरो कार्यसमिति सदस्यले प्रतिनिधिसभा सदस्यको टिकट पाउनु भयो । सँगैको क्षेत्रीय सभापति महामन्त्री तथा माननिय मन्त्री बन्नु भयो । अब साथीहरू नै भन्नुहोस म राजनीतिमा बसौं कि छाडौं ?”

उनले प्रश्‍नसँगै मनको कुरा पनि लेखेका छन्- ‘कहिलेकाँही सत्य तथ्य कुरा र विषयलाई साथीहरूको बीचमा राख्नु पर्ने पनि रहेछ, कसैलाई मन नपर्ला र पर्ने कुरो पनि भएन ।’

उनले अन्त्यमा ‘प्रदेशका उम्मेदवार भाई भतिज तिनैजनालाई अति माया गर्छु, उहाँहरुसँग कुनै प्रतिस्पर्धा भएन र छैन’ भनेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय