बेलबारी नगरपालिकाद्धारा नगदसहित खेलाडीको बिदाई
चन्द्र पौडेलमोरङ, २४ असोज । आउँदो असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुन गइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई बेलबारी नगरपालिकाले बिदाई गरेको छ ।
सोमबार नगरपालिकाले एक कार्यक्रमको आयोजना गरेरे आफ्ना खेलाडीहरुलाई विधिवत रुपमा शुभकामना सहित जनही प्रति खेलाडीलाई १५ हजार प्रोत्साहन रकम दिँदै अविर लगाएर नगरप्रमुख दिलप्रसाद राईले बिदाई गरेका हुन् ।
खेलाडीलाई हतास हुन नहुने भन्दै जहिले पनि मानसिक रुपमा तयार हुनुपर्नेमा जोड दिए। ‘खेल क्षेत्र मान्छेलाई जिउन सिकाउने शिक्षाको एउटा पाटो हो’, उनले भने । नगरपालिकाले छिट्टै नै खेलकुद विकास समितिमार्फत सबै खेलहरुलाई एउटै छाताभित्र राखेर विकास गर्ने समेत उनले प्रष्ट पारे ।
त्यसैगरी उपमेयर नितु थालेले शुभकामना दिँदै खेलाडी देशका गहना भएकाले नगर तथा देशलाई चिनाउन सधै रहने भएकाले थप खेलकुद विकासका लागि आवश्यक भौतिक पूर्वाधार जरुरी भएको उल्लेख गरे ।
बिदाई हुने खेलाडीहरुमा तेक्वान्दोतर्फ निष्टा राई, मन्जित राजवंशी, कुसम राजवंशी, केरिसा आर्चाय; कबड्डी तर्फ शान्ता तामाङ र कोमल श्रेष्ठ छन भने फुटबल तर्फ किशोर गिरी रहेका छन् ।
सोही अवसरमा खेलाडीलाई प्रोत्साहन स्वरुप स्थानीय हेमन्त सुवेदीले जनही ३ हजार सहयोग गर्दै खेलाडीलाई शुभकामना व्यक्त गरेका थिए ।