रोनाल्डोको कीर्तिमानी गोलमा युनाइटेडको पुनरागमन जीत
काठमाडौं, २४ असोज । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर युनाइटेडले जीत हासिल गरेको छ । युनाइटेडले एभर्टनलाई २-१ गोलअन्तरले हराएको हो ।
१-० ले पछि परेको अवस्थाबाट नतिजा उल्टाउन युनाइटेडका लागि एन्टनी र क्रिस्टियानो रोनाल्डोले १-१ गोल गरे । एभर्टनका एलेक्स इवोबीले सुरुवाती गोल गरे ।
खेलको पाँँचौं मिनेटमा इवोबीको गोलमार्फत घरेलु टोली एभर्टनले अग्रता लिएको थियो । १५औं मिनेटमा एन्थनी मार्सियालको पासमा एन्टोनीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ४४औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई खेलमा अगाडि ल्याए । उनले क्यासेमिरोको पासमा गोल गरेका थिए । यो उनको करियरको ७००औं गोल हो । यस सिजन भने उनको गोलको खाता बल्ल खुलेको हो ।
यस जितसँगै युनाइटेड ८ खेलबाट १५ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । पराजित एभर्टन १० अंक जोडेर १२औं स्थानमा रहेको छ ।