मन्त्रीले हिँड्दा-हिँड्दै बाटोमै पार्टी फेरे, बाटोमै टिकट पाए !
काठमाडौं, २४ असोज । चुनाव आउनेबित्तिकै केही व्यक्तिको चाहना हुन्छ जसरी पनि उम्मेदवार हुने । त्यसका लागि पार्टी फेर्ने, आफ्नै पार्टीको उम्मेदवारविरुद्व बागी उठ्ने वा स्वतन्त्र भनेर भएपनि उम्मेदवार चाहिँ हुने । यो क्रम जुनसुकै चुनावमा देखिन्छ ।
तर, यसपटक अझै रोचक घटना पनि देखिएको छ । घरबाट निस्कँदा एउटा पार्टीको उम्मेदवार बन्न आशीर्वाद लिएर हिँडेका व्यक्ति निर्वाचन कार्यालय नपुग्दै बाटोमा अर्को पार्टी प्रवेश गर्दै उम्मेदवारी दिएर फर्केका छन् ।
कपिलवस्तुमा एमालेको समर्थनमा जसपाबाट मनोनयन दर्ता गराउन हिँडेका उम्मेदवार बाटोमै नेपाली काँग्रेसमा प्रवेश गर्दै उम्मेदवार बनेर घर फर्केका छन् । जसपाबाट उम्मेदवार बन्न लागेका सहश्रराम यादव एकाएक काँग्रेसबाट कपिलवस्तु-१ प्रदेश सभा(ख) को उम्मेदवार बनेका हुन् ।
यसअघि सो क्षेत्रमा उनी एमालेको समर्थनमा उम्मेद्वार बन्ने तय भएको थियो । एमाले र जसपाबीच भएको केन्द्रीय सहमति अनुसार जिल्लाका ६ प्रदेश सभा क्षेत्रमध्ये २ वटा जसपाको भागमा परेको थियो ।
यादव काँग्रेस प्रवेश गरेर उम्मेद्वार भएसँगै कपिलवस्तुमा एमाले र जसपाको गठबन्धन भत्किएको छ । आइतबार विहानसम्म दुवै दल मिलेरै मनोनयन दर्ता गर्ने सुरसारमा थिए । सोही अनुसार छाता चुनाव चिन्ह लिएर उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय बाडगंगाको गजेहडा पुगेका यादव एकाएक मोडिएर काँग्रेसका उम्मेदवार बनेका हुन् ।
अघिल्लो पटक पनि जसपाबाट सांसद भएका यादव लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री छन् । यादव काँग्रेसबाट उम्मेदवार बनेपछि गठबन्धनको एक घटक एकीकृत समाजवादीले आपत्ति जनाएको छ । समाजवादीले यस क्षेत्र आफूले पाउनुपर्ने दाबी गर्दै आएको भन्दै फैजल खानलाई उम्मेदवार बनाएको छ।
यादव काँग्रेसका उम्मेदवार बनेपछि एमालेले गठबन्धन तोड्दै जसपाले पाएको निर्वाचन क्षेत्रमा आफ्नो तर्फबाट उम्मेदवारी दर्ता गराएको छ । प्रतिनिधि सभा १ को ‘ख’ मा एमालेले मधुसुदन चौधरीलाई उम्मेदवार बनाएको हो ।