चितवन २ मा रविको अवस्था कस्तो ?

चितवन, २४ असोज । पत्रकारिता छाडेर राजनीतिमा आएका रवि लामिछानेले प्रतिनिधिसभा चुनावमा उम्मेदवारी दर्ता गरे । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रहेका रविले चितवनको क्षेत्र नम्बर २ बाट मनोनयन दर्ता गराएका हुन् ।

यसअघि काठमाडौंबाटै चुनाव लड्ने चर्चा रहेको भएपनि पछि चितवन ३ को चर्चा हुँदै अन्त्यमा उनी चितवन २ बाट उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा उत्रिएका छन् ।

चितवनको क्षेत्र नम्बर २ मा इच्छाकामना गाउँपालिका र कालिका नगरपालिका पूरै पर्दछन् भने र भरतपुर महानगरपालिकाका १० वटा वडा पर्दछन् ।

इच्छाकामना गाउँपालिकाको बजार क्षेत्रका रुपमा रहेको वडा नं ३, ४ र ५ बाहेक अन्य ठाउँ ग्रामिण रहेको छ । त्यसैगरी कालिका नगरपालिकाको वडा नं १० र ११ पनि विकट मानिन्छ भने भरतपुरको २९ नम्बर वडा पनि राजमार्ग खण्डमा पर्दछ । यीबाहेक भरतपुरको वडा नम्बर १ देखि ५, ७, १० देखि १२ भने सहरी क्षेत्रमा नै पर्दछ ।

स्थानीय निर्वाचनको कुरा गर्दा इच्छाकामना गाउँपालिका र कालिका नगरपालिका एमालेले जितेको थियो भने, भरतपुरका बढी मतदाता भएको क्षेत्र पनि एमालेले जितेको थियो ।

यस क्षेत्रबाट रविको प्रतिद्वन्दी सहज भने छैनन् । नेकपा एमालेबाट कृष्णभक्त पोखरेल यसपटक पनि क्षेत्र नम्बर २ बाट उठेका छन् । विंस २०७० मा संविधानसभा र २०७४ मा प्रतिनिधिसभा चुनाव जितेका पोखरेल रविको प्रमुख चूनौति हुन् ।

गएको निर्वाचनमा पोखरेलले निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका शेषनाथ अधिकारीलाई १७ हजारभन्दा बढि मतान्तरले जितेका थिए । पोखरेलले ४४ हजार ६७० मत ल्याउँदा काँग्रेसका अधिकारीले २७ हजार ३१४ मत पाएका थिए ।

त्यसैगरी सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका काँग्रेसका उमेश श्रेष्ठ पनि रविका लागि अर्को चुनौती हुन् । दुईपटकसम्म समानुपातिकबाट सांसद बनिसकेका श्रेष्ठ पहिलोपटक प्रत्यक्ष चुनाव लड्न लागेका हुन् । उनलाई माओवादी केन्द्र र एकीकृत समाजवादीको सर्मथन छ ।

रविको पार्टीले प्रमुख दलका परम्परागत मतदाता तान्ने रणनीति बनाएर मतदाताहरुको पनि मानसकिता परिवर्तन भएमा ठुला दलका नेतालाई केही कठिन पर्न सक्छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय