काँग्रेस नेता भण्डारीले भने: पार्टी काममा अझै डटेर लाग्ने छु
काठमाडौं, २३ असोज । नेपाली काँग्रेसका युवा नेता हरिबोल भण्डारीले जनताबाट अनुमोदित हुने अवसर नपाएपनि नेपाली काँग्रेसको चारतारे झन्डा र रुखको छहारीमा बसेर पार्टी निर्णय आत्मसात गर्दै अगाडी बढ्ने बताएका छन् ।
काठमाडौ क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा चुनावमा आकांक्षी रहेका भण्डारीले जनताले अनुमोदित गर्ने अवसर नपाएपनि यसको समिक्षा भविष्यले गर्ला भन्दै अब एक मिनेट पनि ढिलो नगरी पार्टी हितमा लाग्न र उम्मेदवार जिताउन लागिपर्ने बताएका छन् ।
‘हामीहरु इतिहासको नयॉं मोडमा उभिएका छौं, विगत बन्दै गरेको वर्तमानको सन्दर्भमा पक्कै पनि भविष्यले गम्भीर समिक्षा गर्ने नै छ’, उनले भनेका छन्- ‘म नेपाली कॉंग्रेस पार्टीमा क्रियाशील भई राजनीतिको माध्यमबाट नेपाली समाजको रुपान्तरण, आर्थिक विकास र समृद्धिको निम्ति आफुलाई समर्पित गरेको युवाको नाताले संघिय सभा सदस्यको आकांक्षा राखेको थिए, तर यो अवसर नपाएपनि पार्टी काममा अझै डटेर लाग्ने छु’ ।
पार्टीको महासमिति सदस्य समेत रहेका भण्डारीले लोकतान्त्रिक व्यवस्थामा आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने गरी हुने आपसी स्वच्छ प्रतिस्पर्धाले सही मार्गमा हिँड्न निर्देशित गरेको समेत बताएका छन् ।
‘म एक सशक्त प्रतिस्पर्धी थिए, तर मेरो जीवन आदर्श र मुल्य मान्यतासंग जोडिएको मेरो आस्थाको धरोहर नेपाली कॉंग्रेसको संसदीय समितिले मलाई यस पटक सो पदको लागी जनताबाट अनुमोदित हुने अवसर दिएन’, उनले भनेका छन्- ‘तथापि म एक कर्मठ कार्यकर्ता र लोकतन्त्रको सच्चा सिपाहीको नाताले नेपाली कॉंग्रेस पार्टीको यो निर्णयलाई ह्रदयदेखि नै सम्मान गर्दै आत्मासाथ गर्दछु।’
उनले आफुहरुबीचको आपसी प्रतिस्पर्धाको विषयलाई पार्टीको संसदीय समितिले निर्णय गरी उम्मेदवारी दर्ता समेत भैसकेको हुँदा यस बारेमा अल्झने समय एक मिनेट पनि बाँकी नरहेको बताएका छन । नेपाली कॉंग्रेसको जीतलाई सुनिश्चित गर्नेगरी सबै लाग्नुपर्ने बेला आएको भन्दै उनले सबैलाई अपिल पनि गरेका छन् ।
‘अब हामी सबै चारतारे झण्डामुनि एकजुट बनौ र रुखको शितल छहारीमा रमाैं’, उनले भनेका छन्- ‘नेपाली काङ्ग्रेसमै तपाईं हाम्रो पछिल्लो पुस्ताको सुनौलो भविष्य सुरक्षित भई बसी राखेको छ ।’
उनले आफुलाई प्रत्याशीका रूपमा हेर्न चाहने सबै शुभेच्छु, सहयोगी साथीहरुलाई पार्टीको निर्णय शिरोधार्य गर्दै सम्पूर्ण शक्तिका साथ नेपाली कॉंग्रेसलाई विजयी बनाउनका लागि अगाडी बढ्न अपिल समेत गरेका छन् ।