काठमाडौं-३ मा गठबन्धन भत्कियो
काठमाडौं, २३ असोज । काठमाडौं क्षेत्र नम्बर-३ मा गठबन्धनमा समस्या आएको छ । क्षेत्र नम्बर-३ प्रदेश सभाको (ख)मा माओवादीले टिकट पाएर पनि अन्तिम समयमा नेपाली काँग्रेसले उम्मेदवारी दिएपछि क्षेत्रभरिकै गठबन्धन भत्किएको हो ।
गठबन्धनमा प्रतिनिधिसभा र प्रदेशको (क) नेपाली काँग्रेस तथा प्रदेशको(ख)माओवादीले पाउने भनेर टिकट वितरण भइसकेपछि काँग्रेसले प्रदेशको (ख) मा पनि दाबी नछाडेकोले क्षेत्रका सबै पदमा उम्मेदवारी दिनुपरेको माओवादी केन्द्रका केन्द्रिय सदस्य डा.अमरध्वज तामाङले बताए ।
सहमति अनुसार प्रतिनिधिसभामा नेपाली काँग्रेसका सन्तोष चालिसे, प्रदेशको (क)मा नेपाली काँग्रेसकै छिरिङ दोर्जे लामा र प्रदेश सभाको(ख) मा माओवादी केन्द्रको महेश्वर फुयाँल उम्मेदवार हुने निश्चित थियो । तर, उम्मेदवारी दर्ताको समयमा नेपाली काँग्रेसले धोका दिएर विमल ठकुरीलाई प्रदेशको (ख) मा उम्मेदवार बनाएपछि गठबन्धन भत्किएको माओवादी केन्द्रिय सदस्य बद्री बजगाइले बताए ।
गठबन्धन भत्किएपछि माओवादीले प्रतिनिधि सभामा बद्री बजगाइ, प्रदेशसभा (क) मा कपिल उप्रेती र प्रदेश (ख) महेश्वर फुयाललाई उम्मेदवार बनाएर दर्ता गराएको छ ।