एमाले छाड्दै घनश्याम भुसाल
काठमाडौं, २२ असोज । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विचारक घनश्याम भुसालले अब नेकपा एमाले पार्टीमा नरहने घोषणा गरेका छन् ।
पार्टीले रुपन्देहीबाट प्रतिनिधिसभाको टिकट खोसेपछि सामाजिक सञ्जालमार्फत भुषालले यो घोषणा गरेका हुन । उनले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण शक्ति पार्टीमा लगाएपनि नीति र विधिको पुनस्र्थापना हुने कुनै सम्भावनासमेत नदेखेको भन्दै एमाले छाडेको बताएका छन् ।
एमालेमा अध्यक्ष केपी शर्मा ओलीलेको दम्भ र स्वेच्छाचारिताको कारणले पार्टीमा बस्न नसक्ने निष्कर्ष निकाल्दै भुषालले भनेका छन्-‘ नेकपा एमालेको गौरवलाई कुनै दिन पुनर्स्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै मैले पार्टीमा नीति र विधिको पक्षमा सङ्घर्ष गर्दै आएको कुरा सर्वविदित नै छ, तर म स्वयम्ले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमानदार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु।’