एमालेमा पनि भाँडभैलो; भीम रावलको टिकट खोसियो, चौधरीले पार्टी छाड्ने

काठमाडौं, २१ असोज । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि उम्मेदवारी दर्ताको समय नजिकिँदै गर्दा नेकपा एमालेभित्र टिकटलाई लिएर भाँडभैलो सुरु भएको छ ।

एमाले एक्लै चुनावमा जाने भनेर टिकट पक्का गरिएका कतिपय ठाउँमा अब राप्रपा र जनता समाजवादी पार्टीले समेत तालमेल गर्ने भएपछि सिट बाँडफाँडमै समस्या आउनेछ ।

यसैगरी नेकपा एमालेले १० बुँदे समर्थक नेताको टिकटमा अंकुश लगाउन खोजेपछि थप समस्या उत्पन्न भएको छ । स्रोतका अनुसार एमाले नेता भीम रावल प्रतिनिधिसभाको टिकट पाउनबाट वञ्चित भएका छन् । तल्ला कमिटीबाट एकल सिफारिस भएपनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले रावललाई टिकट दिन चाहेनन् ।

आफ्नै पार्टीको सरकार हुँदा विरोध गर्ने र पार्टी अध्यक्ष ओलीविरुद्ध महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिएका कारण रावलको टिकट खोसिएको हो । अछाम-१ मा एमालेबाट प्रतिनिधिसभातर्फको टिकटका दाबेदार रावल अब अर्कै पार्टीमा गएर उठ्न सक्ने अनुमान समेत गरिएको छ । उनलाई माओवादी केन्द्रले लैजान खोजेको स्रोतको दाबी छ ।

अछाम-१ बाट रावलको ठाउँमा एमाले अध्यक्ष ओलीले झपट बोहरालाई प्रतिनिधिसभाको टिकट दिएका छन । अछाम–१ मा प्रतिनिधिसभामा बोहोरा तथा प्रदेश सभामा कृष्णप्रसाद जैशी र देवबहादुर कुँवरले टिकट पाएका छन् । यस्तै अछाम-२ प्रतिनिधिसभातर्फ यज्ञ बोगटी तथा प्रदेश सभा भिम विष्ट र शिव उपाध्यायले टिकट पाएका छन् ।

यता दाङ-१ बाट उम्मेदवार बन्न नपाएपछि एमाले नेतृ गङ्गा चौधरीले पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिने भएकी छिन् । उनको ठाउँमा एमालेले अर्कैलाइ टिकट दिने पक्का भएपछि चौधरीले यो प्रतिक्रिया दिएकी हुन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय