शेखर समुह पनि विभाजित !

 

काठमाडौं, २० असोज । नेपाली काँग्रेसभित्र ‘न्याय र समानताको लागि’ भनेर चरणबद्ध आन्दोलन गरिरहेको डा.शेखर कोइराला समुहमा पनि विभाजन देखिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका नेतालाई भन्दा गठबन्धनभित्रका अन्य दलका नेतालाई बढी महत्त्व दिएको र उनीहरुको नै कुरा सुनेको भन्दै चरणबद्ध आन्दोलन र विद्रोहको धम्की दिँदै विभिन्न गतिविधि गर्दै आएको डा.शेखर समुहले बिहिबार पनि छुट्टै भेला गरेको छ । यद्यपि यो भेलामा पनि डा.शेखर कोइराला, गगन थापा, धनराज गुरुङ, बद्री पान्डे भने उपस्थित भएनन् ।

जसको नामबाट डा.शेखर समूह चलेको छ उसैको उपस्थितिबिना भएको भेलामा उपस्थित केही नेताले अब नेकपा एमालेसँग छुट्टै तालमेल गरेर जाने अवस्था आउन सक्ने बताए । तर, भेलामा सहभागी कतिपय नेताहरूको समानुपातिकमा नाम परेको र प्रतिनिधिसभा तथा प्रदेशसभामा पुग्‍ने ग्यारेन्टी समेत भएकोले उनीहरुको भनाइ पार्टीमा विद्रोह गरेपनि एमालेसँग मिल्न नहुने भन्‍ने छ ।

समानुपातिकका जम्मा १३ प्रतिशत मात्रै उम्मेदवार पठाउन सकेको यो समूहले प्रत्यक्षतर्फ ४० प्रतिशत मागेको छ । तर, स्रोतका अनुसार संस्थापन पक्षले डा.शेखर समुहलाई बढीमा ११ प्रतिशत दिने भएको छ ।

यो समुहबाट डा.शेखर कोइराला, महामन्त्री गगन थापालगायत ९ देखि १३ जनाले मात्रै टिकट पाउने संस्थापनका एक नेताले बताए । ‘पार्टीले एक्लै लड्ने होइन, गठबन्धन पनि साथमा छ’, उनले भने- ‘सबै सिटमा हामीले उम्मेदवार उठाउने अवस्थामा जसरी साथीहरूले पद माग्नुहुन्छ भने त्यो सम्भव छैन ।’ उनका अनुसार पार्टीबाट विद्रोह गर्ने वा बागी उठ्ने कसैले सोचेको छ भने त्यो सपना नहुने र त्यस्तो व्यक्ति जुनसुकै पदमा भएपनि पार्टी विधान अनुसार तुरुन्तै कारवाही हुनेछ ।

यता शेखर कोइराला पक्षले एमालेसँग तालमेल गरेर उम्मेदवारी दिने कुराको गगन थापा समुहले विरोध गरेको छ । थापा समुहका नेताहरूले जस्तोसुकै समस्या आएपनि पार्टीभित्र नै संघर्ष गर्ने तर एमालेतिर नढल्कने बताएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय