नागढुङ्गा-नौबिसे, बेशीसहर-चामे र सुनौली-पोखरा सडक अवरुद्ध
काठमाडौं, २० असोज । अविरल वर्षापछि आएको पहिरोका कारण देशका मुख्य राजमार्गहरु अवरुद्ध भएका छन् । पहिरोका कारण काठमाडौं भित्रिने मुख्य सडक नागढुङ्गा-नौबिसे सडक बन्द भएको छ ।
सुरुङमार्गनजिकै पहिरो खस्दा दुईतर्फी नै सडक ठप्प भएको प्रहरीले जनाएको छ । दशैंको टीका थाप्न बाहिरिने र दशैं मनाएर काठमाडौं फर्किने यात्रुहरु रोकिएका छन् ।
यस्तै मकवानपुरको त्रिभुवन राजपथको बागझोर खोला बढेको छ, जसले गर्दा राजपथ (हेटौंडा–पालुङ–काठमाडौं) सडकखण्ड र भिमफेंदी–कुलेखानी सडकखण्ड अवरुद्ध भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
सिद्धार्थ राजमार्गको वालिङ–गल्याङखण्ड पनि पहिरोले अवरुद्ध भएको छ । आज बिहान ४ बजेतिर गल्याङ–८ झोल्पेमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
त्यसैगरी लमजुङक बेशीसहरदेखि चामे पुग्ने सडक पनि अवरुद्ध भएको छ भने बेनी जोमसोम सडक पनि अवरुद्ध भएको छ ।
यस्तै, मुग्लिन नारायणगढ सडकखण्ड पनि दुईतर्फी नै ठप्प भएको छ ।