पोखरामा पछिल्लो २४ घण्टादेखि पानी परेको पर्यै, सर्वसाधारणको विजोग
पोखरा, २० असोज । पर्यटकीय नगरी पोखरामा निरन्तर वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टादेखि लगातार परिरहेको पानीले दशैंको टीका थाप्न आफन्तकहाँ जानेहरुको विजोग भएको छ ।
पोखरामा निरन्तर मध्यमदेखि भारी वर्षा भइरहेको छ । पानी एक सेकेन्ड पनि नरोकिएको स्थानीयहरु बताउँछन् । धेरै ठाउँमा सडकमै पानीको भल बगेको छ भने केही ठाउँमा सडकमा यात्रा गर्न नै मुस्किल देखिन्छ ।
सार्वजनिक सवारी नै कम चल्नु र त्यसमाथि लगातार वर्षा भएपछि दूरी तय गरेर जानुपर्नेहरु घरमै रोकिएका हुन् । बाहिरी जिल्लाबाट पोखरा आउनेहरुको पनि वर्षाका कारण विजोग भएको छ ।
चितवनबाट बाग्लुङ टीका थाप्न हिँडेका एक दम्पतिहरु राति साढे ८ बजे पोखरा आइपुगेको र अब गाडी नपाइए समस्या हुने सुनाउँदै थिए । ‘अन्तिम विकल्प भनेको ट्याक्सी नै हुन्छ अब आजका ट्याक्सी के छोइसाध्य होलान् र’, उनीहरु भन्दै थिए ।
त्यसैगरी चितवनबाटै पोखरा ससुराली आएका एक व्यक्ति ‘अब आज डबल भाडा तिरेरै भएपनि ट्याक्सीकै भरमा पर्नुपर्ने भो’ भन्दै थिए । चितवनबाटै टीका थाप्न आएका एक पुरुष ‘एक त बाटो खराब त्यसमाथि पनि पानीका कारण उज्यालोमै पुग्न पाइएन’ भन्दै थिए ।
लमजुङबाट पोखरा आएका एक दम्पतिहरु भने छाता बोकेर आएको र केही सीप नलागे हिँडेरै भएपनि जाने कुरा गर्दै थिए ।
टाढाबाट आएकाहरु पोखराको बसपार्कमा ओर्लिएपछि अकमक्क परेका देखिन्थे । ट्याक्सीवालाहरुलाई नै आज कमाउन लेखेको रैछ भन्दै केही ट्याक्सी तथा केही आफन्तलाई जसोतसो बोलाएर गन्त्वयतर्फ लागेका थिए ।