बडादशैंको मुख्य दिन आज विजयादशमी
काठमाडौं, १९ असोज । बडादशैंको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाइँदै छ । दशैंघरमा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनको हातबाट ग्रहण गरिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीकाको उत्तम साइत विहान ११ बजेर ५१ मिनेटमा रहेको छ । विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जनाए ।
‘राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ’, उनले भने ।
आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।
समितिले घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान १०ः३४ बजे रहेको छ ।