हराउँदै लिङ्गे पिङ संस्कृति [फोटो फिचर]

चन्द्र पौडेल

मोरङ, १८ असोज । ‘दशैंमा एकछिन भए पनि धर्तीमा टेक्नु हुँदैन’ भन्‍ने परम्परागत कथन छ । यस कथनमा कत्तिको वैज्ञानिक कारण छ त्यो त अलग्गै विषय हुनसक्छ । यही कथनलाई चरितार्थ गर्दै दशैंका बेला गाउँशहर जताततै हालिने लिङ्गे पिङ पछिल्ला केहि वर्षयता हराउँदै जान थालेका छन् ।

केही वर्ष अघिसम्म दशैं तिहार जस्ता चाडपर्वमा प्रायः गाउँटोल र शहरका खुल्ला ठाउँहरुमा देखिने लिङ्गे पिङ पछिल्लो समय लिङ्गे पिङको चलन हराउँदै गएको हो ।

पिङको लुठो बाटेर बाँसको ४ देखि ६ ओटा लिङ्गा गाडेर बनाउने पिङ दशैंको सुरुवातदेखि हालेर तिहार सम्मै राखिन्थ्यो तर गाउँघरका युवाहरु रोजगारीको सिलसिलामा गाउँबाट बाहिर देशहरुमा जान थालेसँगै दशैंमा रौनक थप्‍ने लिङ्गे पिङ खेल्ने संस्कृति हराउँदै गएको हो ।

दशैंका बेला सबै जम्मा भएर सामुहिक लिङ्गे पिङ खेल्ने, रमाइलो गर्ने परम्परा हराउँदै गएको स्थानीय युवा तेजबहादुर खत्रीले बताए । वर्षमा एक दिन धर्ती छोड्नै पर्ने परम्परागत नियम रहेको तर पछिल्लो समय बढ्दो प्रविधिको आगमनले यस्ता पौराणीक कला, संस्कृतिहरु लोप हुँदै गएको छ ।

विशेषगरी युवापुस्ताले लिङ्गेपिङ निर्माण गरेर खेल्ने र रमाइलो गर्ने चलन थियो, अहिलेको पुस्ताले यस्ता कुरामा खासै चासो नदिने नन्दराज नेपालको भनाई छ । पछिल्लो समय प्रविधिको विकास भएसँगै गाउँघरमा समेत मनोरञ्जनका अन्य साधनहरु प्रशस्तै आएकाले पनि पिङतर्फ आकषर्ण घटेको बुढापाकाहरु बताउँछन् ।

पिङ बनाउनको लागि लुठो बाट्न ४ देखि ६ जना र बाँस गाड्न कम्तिमा १०/१२ जना मानिस आवश्यक पर्दछ । गाउँमा युवापुस्ताको अभावले महान चाड बडा दशैं र तिहारमा निर्माण गरी खेल्ने लिङ्गेपिङको प्रचलन विस्तारै हराउँदै गएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय