भारतलाई धक्का, बुमराहले टी-२० विश्‍वकप गुमाउने

काठमाडौं, १७ असोज । अबको दुई सातामा सुरु हुने टी२० विश्‍वकप क्रिकेट सुरु हुनुअघि भारतीय क्रिकेट टोलीलाई ठुलो धक्का लागेको छ । टोलीका तीव्र गतिका बलर जस्प्रीत बुमराहले  विश्वकप गुमाउने पक्का भएसँगै भारतको कमजोर बलिङ समस्यामा थप धक्का पुगेको हो ।

चोटकै कारण एसिया कप गुमाएका बुमराह दुई साताअघि भएको अस्ट्रेलियासँगको श्रृंखलामा मैदान फर्कदैं पछिल्ला दुई खेल खेलेका थिए । पुनः उनलाई ब्याक इन्जुरीको समस्या देखिएपछि उनले विश्वकप गुमाउने पक्का भएको हो ।

बुमराह कम्तिमा चारदेखि छ महिनासम्म मैदान बाहिर रहन सक्ने बताइएको छ । बुमराहको स्थानमा कसलाई टोलीमा राख्‍ने भन्‍नेबारे केही दिनमा निर्णय गरिने छ ।

भारतका लागि डेथ ओभरमा उत्कृष्ट बलिङ गर्ने बुमराह टोलीमा नहुँदा कमजोर बलिङमा थप धक्का पुगेको छ । हाल भारतका बलरहरु फर्ममा रहेका छैनन् । सबैजसोले अत्याधिक रन खर्चिरहेका छन् ।

आइतबार मात्र दक्षिण अफ्रिकासँगको खेलमा २३७ रनको विशाल विजयी लक्ष्य दिएको भारतले जवाफमा २२१ रन खर्चियो । अर्शदीप सिंहले ४ ओभरमा ६२ रन खर्चिँदा अक्षर पटेलले ५३ तथा हर्शल पटेलले ४५ रन खर्चिएका थिए ।

यस खेल मात्र हैन अन्य खेलमा पनि भारतका बलरहरुले रन खर्चिरहेका छन् । त्यसकारण भारतलाई बुमराहको अभाव निकै खड्किने देखिन्छ ।

भारतको टोली:

रोहित शर्मा (कप्तान), केएल राहुल(उपकप्तान), विराट कोहली, सूर्यकुमार यादव, दीपक हुडा, ऋषभ पन्त, दिनेश कार्तिक, हार्दिक पान्ड्या, रविचन्द्रन आश्विन, युजभेन्द्र चहल, अक्षर पटेल, भुवनेश्वर कुमार, हर्षल पटेल र अर्शदीप सिंह ।

वैकल्पिक : मोहम्मद शामी, श्रेयस अय्यर, रवि विश्रोई र दीपक चाहर ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय