आरजुको नाम तल सारेपछि काँग्रेसमा सहमति
काठमाडौं, १६ असोज । निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको सूची बुझाउने अन्तिम दिन नेपाली काँग्रेसले केही संशोधनसहित नयाँ सुची तयार पारेको छ । स्रोतका अनुसार प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणाको नाम तल सारेपछि नयाँ सुचीका लागि पार्टीभित्र सहमति जुटेको हो ।

पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले प्रधानमन्त्री पत्नी आरजु राणा र गृहमन्त्री बालकृष्ण खाँडकी श्रीमती मन्जु खाँडको नामको क्रम संख्या तलमाथि गरेको छ । यसअघि बुझाएको सुचीमा आरजु राणाको आठौं र मन्जु खाँडको नवौं नम्बरमा नाम थियो ।

नयाँ सुचीमा अरु को हटे वा को थपिए भन्ने गोप्य राखिएको छ । अब तयार भएको सुचिलाइ निर्वाचन आयोग लगेर बुझाउने जिम्मा पार्टी केन्द्रिय कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेललाई दिइएको छ ।
यसैगरी अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पाको नाम पनि बन्द सूचीबाट हटेको छ । यसअघि ३६औं नम्बरमा नाम भएका शेर्पाले सामाजिक सन्जालमार्फत आफैंले नाम हटेको पुष्टि गरेका छन् ।
पार्टीका नेता डा.शेखर कोइराला पक्षले ४० प्रतिसत भाग खोजेपछि संस्थापन पक्ष दबाबमा थियो । शेखर पक्षले आज बेलुकी सम्म सुचिमा परिवर्तन नभए विद्रोह गर्ने भनेको थियो ।
पार्टीले निर्वाचन आयोगमा बुझाएको सुचिमा कोइराला पक्ष जम्मा ११% मात्रै थियो ।