काठमाडौंमा बालेनको पुत्ला जलाइयो, आन्दोलनमा सायमीको पनि समर्थन

काठमाडौं, १६ असोज । काठमाडौंको बांगेमुढास्थित सामुदायिक भवनमा काठमाडौं महानगरपालिकाले डोजर लगाएको विरोधमा स्थानीयवासिन्दाले शनिबार साँझ प्रदर्शन गरेका छन् ।
उनीहरुले महानगरपालिकाका मेयर बालेन साहविरुद्ध नाराबाजी गर्दै उनको पुत्ला पनि जलाएका छन् । उनीहरुले डोजर आतंक बन्द गर, नेवा एकता जिन्दावाद, नेवा विरोधी होसियार जस्ता नारा लगाएका थिए । स्थानीय वासिन्दाले महानगरपालिकाको वडा नम्बर २५ का वडाध्यक्षविरुद्ध पनि नाराबाजी गरेका छन् ।
महानगरपालिकाले शुक्रबार वडा नम्बर २५ मा रहेको एक सामुदायिक भवन (थायमदु त्वा:छे) डोजर लगाएर भत्काएपछि स्थानीय वासिन्दा आन्दोलनमा उत्रिएका हुन् ।
स्थानीय वासिन्दाको आन्दोलनमा समर्थन गर्न काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार सुमन सायमी पनि पुगेका थिए ।
उनले काठमाडौं महानगरपालिकाले कानुन विपरीत काम गरिरहेको आरोप लगाएका थिए ।

