संगीतकार संघको श्रष्टा सम्मान, परिवर्तनमा गीतसंगीतको मुख्य भुमिका: मन्त्री गहतराज

काठमाडौं, १४ असोज । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नेपालको राजनीतिक परिवर्तनको लागि गीतसंगीत क्षेत्रको भुमिका महत्त्वपुर्ण रहेको बताएका छन् । उनले हरेक परिबर्तनमा गित संगीतले खेलेको भुमिका राजनीतिक पार्टीको भन्दा कम नभएकोले श्रष्टालाइ सम्मान अझै कम भएको बताए ।

राष्ट्रको पहिचान भनेको नै खेलकुद र गीत संगीत रहेको भन्दै उनले नेपालको शिक्षा नीति मै विषयगत पढाइ हुनुपर्ने र त्यसमा गीत संगीतलाई पनि समेट्नुपर्नेमा जोड दिए । उनले सांस्कृतिक विश्‍वविद्यालयको आवश्यकता समेत औंल्याए । मन्त्री गहतराजले नेपाली संगीत क्षेत्रको मुर्धन्य ब्यक्तित्वलाई सम्मान गर्न पाउँदा आफुलाई खुशी लागेको बताए।

वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले नियम कानुन हेर्दै र छिचोल्दै अग्रज श्रष्टाको सम्मानको लागि लड्नुपर्ने बेला आएको भन्दै श्रष्टा सम्मानको लागि राज्यले केही गर्न नसकेकोमा दु:ख व्यक्त गरे । त्यसैगरी चलचित्रकर्मी युवराज लामाले चलचित्र बिकास बोर्डले मात्रै सबै क्षेत्र समेट्न नसक्ने भएकोले संगीत बोर्ड छुट्टै हुनुपर्ने बताए ।

कार्यक्रममा बोल्ने अतिथिहरुले प्रतिलिपी ऐनले दिएको सहुलियत पनि कार्यान्वयन नभएकोमा दु:ख व्यक्त गरे । उनीहरुले श्रष्टाको बौद्धिक सम्पत्तिको रुपमा रहेको पाउनुपर्ने रोयल्टी समेत नपाउनु दु:खद भएको बताए ।

संगीतकार संघका अध्यक्ष चेतन सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा शम्भुजित बाँस्कोटा, भक्तराज आचार्य, कुमार बस्नेतलाई नगद २५ हजार सहित दोसल्ला र ताम्रपत्र सहित सम्मान गरिएको थियो । त्यसैगरी लोचन भट्टराई, नारायण रायमाझी, युवराज लामा, कमल राई, डा.भोला रिजाल, बागमती नगरपालिकाका मेयर भरत थापा लगायतलाई पनि सम्मान गरिएको थियो ।

वरिष्ठ संगीतकार सुरेश अधिकारीले श्रष्टा सम्मानले संगीतकर्मीको मनोबल बढाएको बताए । संगीतकार महेश खड्काले कार्यक्रम सञ्चालन गरेका थिए । सो अवसरमा विभिन्न नृत्य तथा साङ्गितिक कार्यक्रम आयोजना गरिएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय