पूर्वराजा ज्ञानेन्द्रले भने- देशभक्त नेपालीको अवस्था सहज छैन
काठमाडौं, १४ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले देशभक्त नेपालीहरुको अवस्था सहज नभएको बताएका छन । उनले विद्यमान पद्धति र जीवनप्रकृतिको गहिरो अध्ययन आवश्यक भएको पनि बताएका छन् ।
बडादशैंको शुभकामना सन्देशमार्फत ज्ञानेन्द्र शाहले राष्ट्र, प्रजातन्त्र, मौलिक मान्यताहरु र नेपाली एकता रक्षाका निम्ति एकजुट हुँदै अभिभावकीय राज्य व्यवस्थाको पक्षमा समर्पित रहने देशभक्त नेपालीहरुको चोखो चाहना पूरा हुनुपर्नेमा समेत जोड गरेका छन् ।
उनले घुमाउरो पारामा राजतन्त्र नै नेपालीको अविभावक भएको समेत जिकिर गरेका छन् ।
उनको सन्देश:
‘प्यारा नेपाली दिदिबहिनी तथा दाजुभाई, समाजमा सत्य स्थापित गर्ने, सद्भाव जागृत गर्ने र दानवी तात्पर्य नाश गर्ने दशैं पर्वको आदर्श हो। हाम्रो संस्कार र व्यवहारमा दशैं मनाउँदा विद्यमान पद्धति र जीवनप्रकृतीको गहिरो दृष्टि हेर्दै जानू पर्छ। शान्ती होस्, सदाचार रहोस् र आपसी सद्भाव बढोस् दशैं पर्वको यहि आसय हो। त्यसैले यस पावन अवसरमा देश भित्र र बाहिर रहे बसेका सबै नेपालीहरुमा हामी मंगलमय शुभकामना व्यक्त गर्दै हामीलाई लागेको छ कुनै पनि देशभक्त नेपालीलाई यो समय सजिलोसँग बितिरहेको छ जस्तो लाग्दैन।……राष्ट्र, प्रजातन्त्र, मौलिक मान्यताहरु र नेपाली एकता रक्षाका निम्ति एकजुट हुँदै अभिभावकिय राज्य व्यवस्थाको पक्षमा समर्पित रहने देशभक्त नेपालीहरुको चोखो चाहना परिपुर्ति गर्न श्री नवदुर्गा भवानीले प्रेरणा प्रदान गरुन्। जय नेपाल!”