नयाँ ल्यान्डफिल नभए अन्तर्राष्ट्रिय विमानस्थल चल्दैन: मेयर आचार्य

पोखरा, १२ असोज । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फोहर व्यवस्थापनमा नगरवासीले असहयोग गरेको भन्दै सार्वजनिक रुपमा गुनासो गरेका छन् ।

पोखरा औद्योगिक क्षेत्र उद्योग संघ तथा पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको आयोजनामा भएको ‘पोखरा उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको सम्मान’ कार्यक्रममा बोल्दै मेयर आचार्यले पोखराको ल्याण्डफिल साइट स्थानन्तरण नभए पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन समेत असम्भव रहेको बताए ।

आगामी पुसबाट विमानस्थल सञ्चालन गर्ने हो भने फोहर फाल्ने ठाउँ खोज्नुपर्ने र पाएको ठाउमा अवरोध हुन नहुने भन्दै उनले ‘मेरो घर अगाडिको फोहर उठाउनैपर्छ पनि भन्ने तर मेरो वडामा भने फाल्न पाइँदैन’ भन्न नहुने बताए ।

मेयर आचार्यले ठाउँठाउँमा अवरोध गर्ने हो भने महानगरको फोहोर फाल्ने ठाउँ धर्तीमा सम्भव नहुने भन्दै अब अन्तरिक्षमा ल्याण्डफिल साइट खोज्नुपर्ने अवस्था आएको भनी व्यंग्य गरे । पोखराको बाच्छेबुडुवामा भएको हालको साइडलाइ वडा नम्बर १६ र २० मा पर्ने पस्मराङ तथा वडा नम्बर ३३ को भरतपोखरी क्षेत्रमा सार्ने भनिएको थियो । तर, यहाँ स्थानियको चर्को विरोध छ ।

मेयर आचार्यले ल्याण्डफिल साइट निर्माणको लागि अवरोध सिर्जना भएसँगै महानगरले फोहरको वैज्ञानिक व्यवस्थापनको योजना कोरेको पनि सुनाए । विभिन्न देशले फोहरलाई वर्गीकरण गर्दै फोहरबाट नै आम्दानी गरेको समेत उनको भनाइ थियो ।

उनले आउँदो मंसिर १६ गतेदेखि पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला संचालन हुने जानकारी दिँदै सो मेलामा औद्योगिक उत्पादनहरुको प्रदर्शनी गरिने पनि बताए । ‘यो पटकको मेला मनोरञ्जनात्मक हैन,उत्पादनको प्रदर्शनी र उद्यमशीलता सिक्ने थलो बन्नेछ’,उनले भने ।

नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका उपाध्यक्ष बाबुराम पन्तले उद्योगको लगानी दीर्घकालको लागि भएकोले त्यसमा राज्यले विशेष सुविधा दिनुपर्ने माग गरे । नेपालको उत्पादन क्षेत्र कमजोर हुनुमा राज्य दोषी रहेको बताउँदै उनले भने,‘सरकारले लगानीको संरक्षणमा ध्यान दिनैपर्छ ।’ गण्डकी प्रदेश उद्योग परिसंघका अध्यक्ष विनोद शर्माले औद्योगिक क्षेत्र सारिन्छ भन्ने हल्लाले व्यवसायीहरु आतंकित भएको बताए ।

पोखरा-१४ का वडाध्यक्ष बोधराज कार्कीले औद्योगिक क्षेत्रबाट निस्कने केमिकल मिसिएको पानीले बाली बिगार्ने भएकाले त्यसको निर्मलीकरणमा ध्यान दिन औद्योगिक क्षेत्रसँग अनुरोध गरे ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय